असार २८, २०८२ शनिबार July 12, 2025

वैदिक अनुसन्धान गुठी र विश्व भुटानी हिन्दू संगठनबीच समझदारी

वैदिक ग्रन्थ, दर्शन, भाषा र संस्कृतिको संयुक्त रूपमा अनुसन्धान तथा विश्लेषण गर्ने समझदारीपत्रमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ जेठः वैदिक अनुसन्धान गुठी (वाग्) र नेपालबाहिर पुनर्वास भएका सनातनी हिन्दूहरूको संस्था विश्व भुटानी हिन्दू सङ्गठन, अमेरिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँको गौरीघाटस्थित गुठीको केन्द्रीय कार्यालयमा आज अध्यक्ष डा स्वामी केशवानन्दको समुपस्थितिमा सङ्गठनका अध्यक्ष कमल धिमाल र गुठीका महासचिव सुशील थापाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै संस्था वैदिक वाङ्मयलाई प्रविधिमा रूपान्तरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न, आगामी पुस्तामा वैदिक वाङ्यमप्रति रुचि जगाउन तथा नेपालबाहिर बसेका नेपाली र सनातन हिन्दूहरूमा वैदिक वाङ्मय अध्ययन, अनुसन्धान र विस्तार गर्न प्रतिबद्ध भएका छन् ।

सम्झौताअनुसार वैदिक सनातन धर्म तथा हिन्दू सांस्कृतिक सम्पदासँग सम्बन्धित पुस्तक, लेख, शोधपत्रलगायत आध्यात्मिक, धार्मिक तथा शैक्षिक सामग्रीको रूपरेखा, सम्पादन, अनुसन्धान र विश्लेषणमा संयुक्त सहकार्य गरिनेछ । यसैगरी वैदिक कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सामग्रीसमेत समावेश गर्दै सांस्कृतिक, धार्मिक तथा शैक्षिक सामग्रीहरूलाई संयुक्त रूपमा उत्पादन, प्रकाशन र प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको छ ।

वैदिक ग्रन्थ, दर्शन, भाषा र संस्कृतिको संयुक्त रूपमा अनुसन्धान तथा विश्लेषण गर्ने समझदारीपत्रमा उल्लेख छ । हिन्दू सांस्कृतिक धरोहर, समुदायमा चेतना अभिवृद्धि र सामाजिक कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त रूपमा सम्मेलन, कार्यशाला, आध्यात्मिक भेला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना, प्रचार र सञ्चालनमा दुवै संस्थाबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीमा संस्कृत र नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा युवाहरूलाई लक्षित गरी कार्यक्रम गरिने उल्लेख छ ।

कार्यक्रममा वाग्का अध्यक्ष डा स्वामी केशवानन्दले नेपालीहरू जहाँ बसे पनि उसको रगत र मूलवंश नेपालमा रहने बताउनुभयो । उहाँले विदेशमा बसेका भुटानी नेपाली भाषीको धर्म, संस्कृति, परम्परा र वैदिक चेतनासँगको लगाव उच्चस्तरको रहेको बताउनुभयो ।

“हामीले नेपालमा गर्दै गरेका कामहरू सनातन संस्कृतिको उत्थान हुनुपर्छ, वैदिक वाङ्मयको अभ्युदय हुनुपर्छ र विश्वमा फेरि वैदिक ध्वजा फैलाउनुपर्छ भन्ने हाम्रो विचार छ । तेस्रो देश पुनर्वास भएका भुटानी नेपालीको जरामा यही देखिन्छ । त्यसैले उहाँहरूसँग हामीले सहकार्य गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

सङ्गठनका कार्यलाई नेपालबाट कसरी सहयोग गर्ने र वाग्ले यहाँ गरिरहेका कामलाई अमेरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर दुई पक्षबीच कुरा मिलेको हुनाले समझदारी भएको उहाँको भनाइ छ । नेपालबाहिर बसेका नयाँ पुस्तालाई कसरी वैदिक दर्शनका ज्ञानका स्रोतहरू हस्तान्तरण गर्न सकिन्छ भन्नेमा प्रवासी भुटानीहरूको चिन्ता रहेको उहाँले बताउनुभयो ।

डा स्वामीले भन्नुभयो, “मन र विचारको सम्झौता सबैभन्दा माथि हुन्छ । त्यसमा रगत जोडिएको समझदारी धेरै माथि हुन्छ । हामीलाई वैदिक वाङ्मयले जोडिसकेको छ ।” उहाँले समझदारी वैदिक वाङ्मयको हितमा रहेको र विश्वभरि छरिएर रहेका अर्बौँ हिन्दूहरूका लागि सहकार्य गरिने बताउनुभयो । “हाम्रा ज्ञान, चेतना र आर्ष परम्परा, हिमवत् खण्डबाट उत्पन्न भएका ज्ञानका धारालाई विश्वभर प्रचार गर्न समझदारी भएको हो”, उहाँले भन्नुभयो ।

विश्व भुटानी हिन्दू सङ्गठनका अध्यक्ष धिमालले वैदिक सनातन धर्मको सेवा, संरक्षण र विकासमा अनवरत अघि बढ्न यस्तो समझदारी कोसेढुङ्गा हुने बताउनुभयो । “हामी भाषा, धर्म, संस्कार र संस्कृतिमा आबद्ध रही पूर्वीय दर्शन र वाङ्मयलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर सक्रिय छौँ । नेपालका विद्वान् र बुद्धिजीवीहरू, विभिन्न सङ्घसंस्थासँग काम गर्दै आएको इतिहास छ”, उहाँले भन्नुभयो । संस्कार शिक्षा र पाठ्यपुस्तक नेपालबाट लैजानुपर्ने अवस्था छ । ओहायोमा धाम निर्माणका लागि काष्ठकलादेखि मूर्तिकलासम्मका नमूना नेपालबाट लैजानुपर्ने भएकाले यसमा सहजता प्रदान गर्न पनि सम्झौता महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

सङ्गठनले नेपालबाट गर्ने सबै काम वाग्मार्फत गर्ने उहाँले बताउनुभयो । धिमालले भन्नुभयो, “वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि अमेरिकामा रहेका विश्व भुटानी हिन्दू सङ्गठन मातहत रहेका विभिन्न कार्यक्रम र नेपालमार्फत गरिने कार्यक्रम सङ्गठनमार्फत हुनेछ ।”

वाग्का सचिव सुशील थापाले सङ्गठनसँग समझदारी गर्दा अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वैदिक सनातनी संस्कारका लागि विभिन्न काम गर्दै आएका छौँ । हामी ध्येयलाई आफ्नो शक्ति लगाएर सफल बनाउन लागिपरेका छौँ । यसमा भुटानी सङ्गठनले देखाएको सदासयता राम्रो छ ।” वैदिक अनुसन्धान गुठी (वाग्) वैदिक विज्ञान, गुरुकुल शिक्षा, सर्वोच्च ज्ञान र वैदिक कृत्रिम बुद्धिमत्ताको प्रवर्द्धनमा समर्पित संस्था हो । जसको उद्देश्य प्राचीन वैदिक ज्ञानलाई आधुनिक प्रविधिसँग एकीकृत गर्नु रहेको छ ।

विश्व भुटानी हिन्दू सङ्गठन सन् २०१३ मा स्थापना भएको र सन् २०१७ मा अमेरिकाको ओहायो राज्यमा औपचारिक रूपमा दर्ता भएको ५०१ (सी) (३) प्रकारको गैरनाफामुखी संस्था हो । सङ्गठनले वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ । यसैगरी सङ्गठनले अमेरिकास्थित नेपाली÷भुटानी हिन्दू प्रवासी समुदायको बौद्धिक, आध्यात्मिक, भाषिक तथा सांस्कृतिक गतिविधि प्रवर्द्धनमा सहयोग गर्दै आएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार