कार्तिक २२, २०८३ आइतबार November 8, 2026

रुकुमपूर्वमा दुई विद्यालयका विद्यार्थी छाप्रोमा पढ्न बाध्य, भवन अभावले शिक्षा संकटमा

दशरथ आधारभूत विद्यालय, तुपा र जनजागृति आधारभूत विद्यालय, दमचनका विद्यार्थीहरू छाप्रोमा पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार ३ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा रहेका दुई आधारभूत विद्यालयका विद्यार्थीहरू भवन अभावका कारण छाप्रोमा पठनपाठन गर्न बाध्य भएका छन्। दशरथ आधारभूत विद्यालय, तुपा र जनजागृति आधारभूत विद्यालय, दमचनका विद्यार्थीहरू हिउँदमा चिसो र बर्खामा चुहिने पानीसँग जुध्दै छाप्रोमा अध्ययन गरिरहेका छन्।

दशरथ आधारभूत विद्यालय तुपाका कक्षा ५ र जनजागृति विद्यालय दमचनका कक्षा ३ का कक्षाकोठा नहुँदा विद्यार्थीहरूलाई अस्थायी छाप्रोमा राखेर पढाउनुपरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार बाल विकासदेखि कक्षा ५ सम्मको पठनपाठन हुँदै आएको छ।

दशरथ आधारभूत विद्यालय तुपाका प्रधानाध्यापक जिता दर्लामीका अनुसार विद्यालय भवनको अभाव लामो समयदेखि समाधान नहुँदा बालबालिकाको शिक्षामा गम्भीर असर परिरहेको छ। उनले भने, “हिउँदमा हिउँ पर्छ, बर्खामा झरी — छाप्रोबाट पानी चुहिन्छ। तरपनि वरिपरि सरेर पढाइ गर्नैपर्छ।”

त्यस्तै, जनजागृति विद्यालय दमचनका प्रधानाध्यापक चम्फा घर्तीले पनि गाउँपालिकामा पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो। उहाँका अनुसार भौतिक संरचना नहुँदा शैक्षिक सुधार असम्भवजस्तै भएको छ।

यी दुवै विद्यालय गाउँपालिकाको केन्द्र वडा नं १० नजिकै रहेका छन्। तर गाउँपालिकाकै नजिकको विद्यालयमा यस्तो अवस्था हुनु दुःखद पक्ष भएको अभिभावकहरूको भनाइ छ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले भवन अपुग रहेका विद्यालयलाई यस आर्थिक वर्षमा पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश विद्यालयमा अझै पूर्ण रूपमा भवन निर्माण हुन सकेको छैन।

गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले भने, “गाउँपालिकाको बजेट सीमित छ। प्रदेश र संघ सरकारसँग माग गर्दा पनि आवश्यक मात्राको योजना प्राप्त हुन सकेको छैन। तर भवन अभाव भएका विद्यालयलाई क्रमिक रूपमा प्राथमिकतामा राखेर निर्माणको काम अघि बढाइएको छ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया