काठमाण्डौंः फ्रेन्चाइज स्तरको महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० गतेदेखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिताको औपचारिक मिति सार्वजनिक गर्दै तयारी तीव्र बनाएको जानकारी दिएको छ।
दोस्रो ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)’ का लागि नेपाल भलिबल संघले आवश्यक स्वीकृति दिएको छ। आयोजक संस्था इन्फिनिटी ड्रिम्सकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले नेपाल भलिबल संघसँगको सहकार्यमा प्रतियोगिताको तयारी अगाडि बढाइएको जानकारी दिनुभयो।
गत वर्षको पहिलो संस्करणमा जस्तै यसपटक पनि छ टोलीको सहभागिता रहनेछ। प्रत्येक टिमले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन्। विगतमा नौ वटा देशका खेलाडीहरूले प्रतियोगितामा सहभागीता जनाइसकेका छन्। यो वर्ष पनि अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको पहिलो संस्करणमा कर्णाली यश्विजले उपाधि जितेको थियो। लिगले नेपाली महिला भलिबलको स्तर उकास्न उल्लेखनीय योगदान पुर्याएको भन्दै यस संस्करणमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको भिडन्त हेर्न सकिनेछ।
ईडब्लूभीएलले महिला खेलाडीलाई व्यावसायिक अवसर प्रदान गर्दै भलिबलको विकासमा योगदान दिन थालेको भन्दै खेलप्रेमीहरूमा यो लिगप्रति उत्साह बढ्दो छ। प्रतियोगिताका बाँकी विवरणहरू छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया