काठमाण्डौं, असार ७ गते । गुल्मी जिल्लाको प्रमुख शैक्षिक संस्था रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा श्रीप्रसाद भलामी पुनः निर्विरोध निर्वाचित भएका छन्। क्याम्पसको ४०औं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि भलामी निर्विरोध चयन भएका हुन्।
उपाध्यक्षमा धर्म बहादुर विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा कृष्णप्रसाद पोखरेल, घनश्याम पाण्डे, थम्मनबहादुर केसी, दुर्गाप्रसाद पाण्डे, निर्मला केसी, बेदप्रसाद कुँवर, राजकुमार श्रेष्ठ, शेषकान्त गौतम र हरिलाल न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद बलालले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र सहमतिपूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।
श्रीप्रसाद भलामीको अघिल्लो कार्यकालमा क्याम्पसले २०७९ साउन ३० गते क्याम्पसलाई ६ महिनाका लागि आर्थिक सङ्कटकाल घोषणा गर्दै सुधारात्मक कदम चालेको थियो। त्यस अवधिमा झन्डै ३ करोड ३७ लाख रुपैयाँ बराबरको आर्थिक दायित्व बोकेको क्याम्पसलाई उनले आफ्नो नेतृत्वमा करोड रुपैयाँभन्दा कमको दायित्वमा झारेका थिए, जसलाई क्याम्पसको वित्तीय सुधारतर्फको उल्लेखनीय सफलता मानिएको छ।
पुनः अध्यक्षमा निर्वाचित भएपछि भलामीले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, नयाँ विषय थप, तथा दिगो आम्दानीको स्रोतको व्यवस्थापन गर्नेमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अहिले क्याम्पसमा ७३१ जना विद्यार्थी अध्ययनरत छन्। भलामीले क्याम्पसलाई देशमै नमूना शैक्षिक संस्थाका रूपमा चिनाउने लक्ष्य लिएको बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया