काठमाडौं, असार १३ गते । नेपाली सेनाका उपरथी गौरवकुमार केसीले आज दर्ज्यानी चिह्न प्राप्त गरेका छन्। सेनाको जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई उपरथी दर्जाको चिन्ह प्रदान गरेका हुन्।
केसीलाई यही असार ९ गते उपरथी पदमा पदोन्नति गरिएको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, उक्त पदोन्नतिसँगै उनलाई पूर्वी पृतनापतिको जिम्मेवारी तोकिएको छ।
नेपाली सेनामा करिब एक वर्षसम्म प्रवक्ताको भूमिका निर्वाह गरेका केसी केही समयअघि मात्रै सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए।
सेनाको संगठनात्मक संरचना र दायित्वप्रति जिम्मेवार रहँदै आएका केसीको पदोन्नतिलाई उच्च नेतृत्वको विश्वासको रुपमा हेरिएको छ। सेनाभित्रको अनुशासन, दक्षता र व्यवस्थापनमा निरन्तर योगदान दिँदै आएका उनले पूर्वी पृतनामा थप जिम्मेवारी बहन गर्ने भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया