असार १९, २०८२ बिहिबार July 3, 2025

हुम्लाको चङ्खेलीमा अझै रुख चढेर फोन गर्ने बाध्यता, गाउँपालिका केन्द्रसमेत सञ्चारविहीन

गाउँपालिका केन्द्र पिप्लाङ नै सञ्चार सुविधाविहीन अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रलिङ (हुम्ला), असार १५ गते । सुचना प्रविधिको युगमा प्रवेश गरिसकेको नेपालका दुर्गम गाउँहरू अझै पनि आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन्। हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाका बासिन्दाले मोबाइल फोनमा कुरा गर्न अझै पनि रुख चढ्नुपर्ने बाध्यता भोगिरहेका छन्।

सदरमुकाम सिमकोटबाट करिब ४८ कोष टाढा रहेको चङ्खेली गाउँपालिकामा मोबाइल सिग्नल सहज रूपमा नपुग्ने हुँदा टावरले टिप्ने स्थान खोज्दै अग्लो ठाउँ वा रुख चढेर फोन गर्नुपर्ने अवस्था यथावत् रहेको छ। स्थानीय बसुना तामाङका अनुसार, विदेश तथा स्वदेशमा रहेका आफन्तसँग कुरा गर्न पनि उनीहरूलाई डाँडो चढ्न वा रूखमा चढ्नुपर्ने हुन्छ। “गाउँपालिका कार्यालय पुगे पनि फोन नलाग्ने, कर्मचारीहरू भएको छैन कि भन्ने अड्कल गर्नुपर्छ,” तामाङले गुनासो गर्नुभयो।

समस्या केवल सामान्य जनतासम्म सीमित छैन। गाउँपालिका केन्द्र पिप्लाङ नै सञ्चार सुविधाविहीन अवस्थामा रहेको अध्यक्ष प्यारीलाल शाही बताउनुहुन्छ। “टेलिफोन टावर नचल्दा कार्यालयका काम प्रभावित भएका छन्। जनताका गुनासा फोनमै समाधान गर्न सकिने भए पनि सेवा लिन गाउँपालिका कार्यालय नै आउनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।

गाउँपालिकाका विभिन्न स्थानहरूमा टावर भए पनि तिनीहरू प्रभावकारी रूपमा काम नगरेको, कतै समस्या आएर बन्द भएको र कतै नेटवर्कले काम नगरेको स्थानीयहरूको भनाइ छ। मेलछाममा रहेको नेपाल टेलिकमको टावरमा समेत बारम्बार समस्या आउँदा सूचनाको आदान–प्रदानमा थप कठिनाइ भएको छ।

प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीका अनुसार, कार्यालयले निजी कम्पनीको वायरलेस इन्टरनेट प्रयोग गरिरहेको भए पनि त्यो पनि भरपर्दो छैन। “जेनतेन काम चलाइरहेका छौं, तर इन्टरनेट नहुँदा बैंकको शाखा खोल्न समेत सकिएको छैन,” गिरीले भन्नुभयो।

नेपाल टेलिकमले भने चङ्खेली गाउँपालिकाको केन्द्रमा फोरजी टावर निर्माण प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। यद्यपि त्यो कहिले सम्पन्न हुन्छ भन्नेबारे स्थानीयहरू अन्योलमा छन्।

चङ्खेली गाउँपालिका मात्र होइन, देशका अन्य दुर्गम बस्तीहरूमा पनि अझै सञ्चार सुविधा पुगेको छैन। सूचना प्रवाह अवरुद्ध हुँदा स्थानीय सरकारका सेवा प्रवाहमा असर परिरहेको छ भने सर्वसाधारणलाई पनि दैनिक जीवन सञ्चालनमा असहजता भइरहेको छ। दुई घण्टासम्म पैदल हिँडेर टावर हुने स्थान पुगेर मात्र फोन गर्नुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन।

स्थानीय बासिन्दा र जनप्रतिनिधिले पटक–पटक समस्या सम्बन्धित निकायमा जानकारी गराए पनि समाधानको प्रयास अपेक्षाकृत रूपमा सुस्त देखिएको छ। सञ्चार सेवा सुचारु भइ गाउँपालिकाको जनजीवनमा सहजता ल्याउने आशामा स्थानीयहरू अझै पनि पर्खिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया