असार २१, २०८२ शनिबार July 5, 2025

एआईको बढ्दो प्रयोगसँगै माइक्रोसफ्टमा तेस्रोपटक ठूलाे छँटनी, हजारौं जागिर गुमे

माइक्रोसफ्टले फेरि ९ हजार कर्मचारी हटायो, एआई प्रविधिको प्रभाव झनै देखिन थाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगसँगै प्रविधि कम्पनी माइक्रोसफ्टले फेरि हजारौँ कर्मचारी हटाएको छ। कम्पनीले बुधबार पुष्टि गरेअनुसार पछिल्लो केही महिनामा तेस्रो पटक गरिएको छँटनीको क्रममा करिब ९ हजार कर्मचारी प्रभावित भएका छन्।

कम्पनीका प्रवक्ताका अनुसार, यो छँटनीले कुल कार्यबलको ४ प्रतिशतभन्दा कम जनशक्तिलाई असर पार्नेछ। सन् २०२३ मा गरिएको १० हजार जनाको छँटनीपछि यो माइक्रोसफ्टको अहिलेसम्मकै ठूलो कर्मचारी कटौती हो।

माइक्रोसफ्टका प्रवक्ताले भने, “हामी कम्पनी र टिमहरूलाई चलायमान बजारमा सफल बनाउने लक्ष्यसहित आवश्यक संगठनात्मक परिवर्तनहरू कार्यान्वयन गरिरहेका छौँ।” उनले थपे, “प्रवन्धकीय तह घटाउँदै र नयाँ प्रविधिहरूको प्रयोगमार्फत कर्मचारीहरूलाई अझ उत्पादक बनाउन केन्द्रित छौँ।”

कम्पनीका कार्यकारी प्रमुख सत्य नडेलाले यसै वर्षको सुरुमा भनेका थिए कि माइक्रोसफ्टमा हाल २० देखि ३० प्रतिशत कोड एआईबाट निर्माण भइरहेको छ। कम्पनीले अर्बौँको लगानी एआई पूर्वाधारमा गर्दै आएको छ।

यसअघि, सन् २०२४ को मे महिनामा पनि माइक्रोसफ्टले ३ प्रतिशत अर्थात् झण्डै ७ हजार कर्मचारी हटाएको थियो। जुलाई २०२४ सम्मको तथ्याङ्कअनुसार, माइक्रोसफ्टमा झण्डै २ लाख २८ हजार कर्मचारी कार्यरत छन्।

यसैबीच, माइक्रोसफ्टको सेयर मूल्यमा भने छँटनीको घोषणा पछि खासै प्रभाव देखिएको छैन। प्रविधि क्षेत्रमा एआई प्रयोगसँगै उत्पन्न हुने ‘मानव प्रतिस्थापन’को बहस तीव्र भइरहेका बेला माइक्रोसफ्टको पछिल्लो कदमलाई उदाहरणका रूपमा हेरिएको छ।

अन्य प्रविधि कम्पनीहरू पनि एआईमार्फत कार्यक्षमता बढाउने रणनीतिमा लागिरहेका छन्, जसले भविष्यमा रोजगार बजारमा ठूलो प्रभाव पार्ने अनुमान गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया