असार २१, २०८२ शनिबार July 5, 2025

जनसङ्ख्या वितरणमा असन्तुलन, सहर मोहले रित्तिँदै गाउँ

जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २१ गते  । नेपालको जनसङ्ख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको सहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसङ्ख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो । जनसङ्ख्या सहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसङ्ख्या रित्तिँदै गएका छन् भने नगरपालिकामा पूर्वाधारले नथेग्ने गरी जनसङ्ख्या भरिने  क्रम तीव्र छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँपालिकाको तुलनामा नगरपालिकामा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाइएको छ ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण (साबिकका गाउँ विकास समिति हालको गाउँपालिका क्षेत्रमा) बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा  झरेको छ भने नगरपालिकामा क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

नगरपालिकामा केन्द्रित जनसङ्ख्यामध्ये २६.१ प्रतिशत साना आकारका नगरपालिकामा बसोबास गरिरहेको देखिएको छ । त्यस्तै ५९.४ प्रतिशत जनसङ्ख्या मध्यम आकारको नगरपालिकामा र १४.४ प्रतिशत मात्र महानगरपालिका (काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज) मा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले व्यक्तिको सहरकेन्द्रित मोहले गर्दा गाउँमा जनसङ्ख्या रित्तिँदै गएको र सहरमा भरिने क्रम तीव्र बन्दै गएको बताउनुभयो । असन्तुलित जनसङ्ख्याको वितरणले गर्दा विकास र उत्पादनका प्रक्रियामा असन्तुलन कायम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

गाउँमा नै जनसङ्ख्या टिकाउनका लागि सरकारले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अत्यावश्यक सेवा र पूर्वाधारको व्यवस्था गर्दा मात्र गाउँमा र सहरमा जनसङ्ख्या सन्तुलित हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालमा श्रमशक्ति, आर्थिक क्रियाकलाप र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्कको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालयले कुल २१ वटा विषयगत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म १६ वटा प्रतिवेदन सार्वजनिक गरिसकेको जनाइएको छ । बाँकी प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी तथ्याङ्क कार्यालयको छ । कार्यालयले २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न गरेको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया