काठमाडौँ । आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि हुने एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह बी मा परेको छ।
नेपालले उक्त समूहमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने भएको हो। समूह चरण अक्टोबर ८ देखि १० सम्म सञ्चालन हुनेछ भने सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ।
अन्य समूहहरूमा समूह ए मा युएई, मलेसिया र कतार परेका छन् भने समूह सी मा आयोजक ओमान, पपुआ न्यू गिनी र समोआ रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकपको लागि छनोट हुनेछन्।
यो प्रतियोगितामा यसअघि सब–रिजनल छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र समोआले सहभागिता जनाउँदैछन्। ती टोलीसँगै नेपाल, आयोजक ओमान र पपुआ न्यू गिनी गरी जम्मा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया