श्रावण १, २०८२ बिहिबार July 17, 2025

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

संसदीय वेबसाइटका अनुसार स्मिहल अब रक्षामन्त्री बन्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, साउन १ गते । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उहाँ सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको पहिलो नयाँ सरकार प्रमुख बन्नुभएको छ ।

स्विरिडेन्को युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक हुनुहुन्छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गर्नुभएको छ ।

तर घरेलु स्तरमा मन्त्रिपरिषद्को यो पुनर्गठनलाई कुनै ठुलो परिवर्तनका रूपमा लिइएको छैन किनकि जेलेन्स्की युद्धको अवधिमा अझै पनि आफ्नो प्रभावकारिता र वफादारी प्रमाणित गर्ने अधिकारीहरूमा निर्भर हुनुहुन्छ । युद्ध अहिले चौथो वर्षमा छ । युक्रेनको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख प्रधानमन्त्री डेनिस स्मिहलको प्रतिस्थापनसहित शीर्ष सरकारी पदहरू फेरबदल गर्न जेलेन्स्कीले बिहीबार नामाङ्कन पेस गर्नुभयो ।

संसदीय वेबसाइटका अनुसार स्मिहल अब रक्षामन्त्री बन्नुहुने छ । मन्त्रिपरिषदमा अन्य परिवर्तनहरू अपेक्षित छन्, तर प्रधानमन्त्रीका रूपमा स्विरिडेन्कोको नियुक्ति मुख्य चर्चाको विषय बनेको छ । उहाँले अमेरिका–युक्रेन खनिज सम्झौताको वार्तामा मुख्य भूमिका खेल्नुभएको थियो । सम्झौताले किएभका लागि सर्तहरू स्वीकार्य छन् भन्ने सुनिश्चित गरेको थियो । स्विरिडेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग उच्च–स्तरीय वार्तामा युक्रेनको प्रतिनिधित्व गर्दै आउनुभएको छ । यसमा रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित छ ।

सांसद र सहकर्मी अधिकारीहरूले उहाँलाई राष्ट्रपति कार्यालयप्रति वफादारीको प्रतिष्ठा भएको एक लगनशील कार्यकारीका रूपमा वर्णन गर्छन् । मङ्गलबार, जेलेन्स्कीले स्विरिडेन्को र डिजिटल रूपान्तरण मन्त्री मिखाइलो फेडोरोभसँग एक तस्बिर पोस्ट गर्नुभयो, जसमा उहाँले आगामी छ महिनाका लागि फोकस घरेलु हतियार उत्पादन बढाउने, युक्रेनका रक्षा बलहरूका लागि सबै प्रकारका ड्रोनहरूको पूर्ण ठेक्का, आर्थिक सम्भावनाहरू खुलाउन नियमहरू सहज बनाउने र सामाजिक सहायता कार्यक्रमहरूको डेलिभरी सुनिश्चित गर्ने हुने लेख्नुभएको छ ।

स्मिहलले मङ्गलबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सन् २०२० मार्च ४ मा नियुक्त भएपछि उहाँले पाँच वर्षभन्दा बढी समयसम्म यो पद सम्हाल्नुभएको थियो । युक्रेनी विश्लेषकहरू र स्थानीय सञ्चारमाध्यमहरूले स्मिहललाई बिरलै एक स्वतन्त्र राजनीतिक व्यक्तित्व वा जेलेन्स्कीको प्रतिकुलका रूपमा चित्रण गरेका छन् । स्विरिडेन्को जस्तै, उहाँ पनि राष्ट्रपति र उहाँको टोलीप्रति वफादार मानिनुहुन्छ ।

रक्षामन्त्रीका रूपमा उहाँको नयाँ पदको अर्थ उहाँले पूर्णरूपमा सरकार छाड्नुभएको छैन बरु शक्तिशाली भूमिकामा मन्त्रिपरिषद्मा बसिरहनुभएको छ । रक्षा मन्त्रालयले सबैभन्दा ठुलो बजेट सञ्चालन गर्छ र युद्धका कारण उल्लेखनीय महत्त्व राख्छ । स्मिहलले रुस्टेम उमेरोभलाई प्रतिस्थापन गर्नुहुने छ । उमेरोभले सुधारलाई अगाडि बढाउन खोजेको भए पनि आफ्नो कार्यकालमा युक्रेनको रक्षा खरिद प्रणालीमा आन्तरिक उथलपुथल र निरन्तर निष्क्रियता देख्नुभएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा उहाँको सक्रिय भूमिकाका बावजुद, आलोचकहरूले मन्त्रालय खराब व्यवस्थापनबाट ग्रस्त रहेको बताएका छन् । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार