काठमाडौं, श्रावण ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले उपाध्यक्ष मुकुन्द श्याम गिरीको पदमुक्ति विधानविपरीत ढंगले भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा र महामन्त्री कुन्ति कुमारी शाहीले संयुक्त अपिल जारी गर्दै गिरीलाई पुनः पूर्ववत् पदमा राख्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
नेताहरूको अपिलमा भनिएको छ, “एकता महाधिवेशनको म्यान्डेट आत्मसात गर्दै पार्टीको सर्वोपरी हित र एकताको पक्षमा सार्वजनिक अपिल गरेकै कारण गिरीज्यूलाई विधान विपरीत पदमुक्त गरिनु दुखद घटनाक्रम हो।”
उनीहरूले कुनै स्पष्टिकरणको अवसर नदिई पार्टी विधानको अवमूल्यन गर्दै पदमुक्त गर्नु अस्वीकार्य रहेको उल्लेख गरेका छन्। अपिल अनुसार यस कार्यले पार्टीको प्रजातान्त्रिक छविमा आँच पुर्याएको छ र देशभरका पार्टी कार्यकर्तालाई दुःखी तुल्याएको छ।
यसै सन्दर्भमा राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै एकलौटी निर्णय पार्टी हितविपरीत भएको बताए। उनले भने, “पार्टीको एकता, विधिको शासन र आन्तरिक लोकतन्त्रको मर्मविपरीत कुनै पनि निर्णय दीर्घकालीन हितकारी हुँदैन। मुकुन्द गिरीजस्ता समर्पित नेताको अपमान पार्टीभित्र निराशा फैलाउने काम मात्र हो।”
उनले नेतृत्वलाई तत्काल निर्णय पुनर्विचार गर्न र एकता र संवादको बाटो रोज्न आग्रह गरे। “हामीलाई विधि, प्रक्रिया र आदर्शमा आधारित संगठन निर्माण गर्नुपर्छ,” पाठकले थपे।
नेताहरूको अपिलमा गिरीको पार्टीप्रतिको समर्पण र योगदानको पनि स्मरण गरिएको छ। “गिरीज्यूले एकता महाधिवेशनदेखि अहिलेसम्म पार्टीलाई संस्थागत गर्न खेलेको भूमिका स्मरणीय छ,” अपिलमा उल्लेख छ।
राप्रपाभित्र पछिल्लो समय देखिएको असहमति र गुटगत तनावको पृष्ठभूमिमा आएको यस अपिलले पार्टीभित्र संवाद, सहकार्य र सामूहिक नेतृत्वको आवश्यकता झनै स्पष्ट बनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया