काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
लोगो सावैजनिक गर्दै टोलिले यो लोगो केवल एक ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने जनाएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले लोगोले मैदानमा टिमको शक्ति मात्रै होइन, गौरव पनि झल्काउने बताए । ‘लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ’, जिसीले भने, ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’
नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ ।
यस्तै सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ । २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएको छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको लुम्बिनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । लुम्बिनीले एनपीएलको दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ ।
लुम्बिनीले मार्की खेलाडी रोहित पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई रिटेन गरेको छ । यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकाश आग्री र आरिफ खानलाई भने रिलिज गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया