श्रावण १५, २०८२ बिहिबार July 31, 2025

त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको माग

पाठ्यक्रम विकास केन्द्रमा देखिएको लापर्बाही, ढिलासुस्ती र संरचनागत बेथितिको अन्त्य गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ ।

संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

अनलाइन प्रणालीमार्फत सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिताका लागि र विद्यमान सेवाहरूको सुधार गर्नुका साथै सबै सेवाहरूलाई विकेन्द्रीकरण गरी देशभरमा सबैको सहज पहुँच सुनिश्चित गर्न अनेरास्ववियुले अनुरोध गरेको छ ।

यसैगरी विभिन्न विषयमा शैक्षिक दक्षता हासिल गरेका व्यक्तिहरूलाई विश्वविद्यालयमा अध्यापन गर्ने अवसर प्रदान गर्न इच्छुक एवं योग्य जनशक्तिका लागि ‘लेटरल इन्ट्री’ को व्यवस्था मिलाउने विषयलाई ध्यानमा राखी आवश्यक प्रबन्ध गर्न विश्वविद्यालयलाई आग्रह गरिएको अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले बताए ।

हेर्नुहोस ८ बुँदा

१. अनेरास्ववियु सदैव प्राज्ञिक क्षेत्रको स्वायत्तता तथा शान्तिपूर्ण वातावरणमा पठनपाठन गर्न पाउने विद्यार्थी, प्राध्यापक र समस्त शैक्षिक समुदायको अधिकारलाई गम्भीरताका साथ आत्मसात् गर्दछ । शैक्षिक उन्नयनको थलोमा हुने तालाबन्दी, तोडफोड लगायत कुनै पनि किसिमका अवाञ्छित र अराजक गतिविधिप्रति हामी स्पष्ट विमति प्रकट गर्दछौँ ।

२. विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गरिनु आवश्यक छ । सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिताका लागि र विद्यमान सेवाहरूको सुधार गर्नुका साथै सबै सेवाहरूलाई विकेन्द्रीकरण गरी देशभरमा सबैको सहज पहुँच सुनिश्चित गर्न अनेरास्ववियु अनुरोध गर्दछ ।

३. त्रिभुवन विश्वविद्यालयमा दक्ष जनशक्तिको आकर्षण र परिचालनका लागि सेवा आयोगलाई नियमित, पारदर्शी र समयानुकूल बनाउनु आवश्यक छ । विभिन्न विषयमा शैक्षिक दक्षता हासिल गरेका व्यक्तिहरूलाई विश्वविद्यालयमा अध्यापन गर्ने अवसर प्रदान गर्न इच्छुक एवं योग्य जनशक्तिका लागि ‘लेटरल इन्ट्री’ को व्यवस्था मिलाउने विषयलाई ध्यानमा राखी आवश्यक प्रबन्ध गर्न अनुरोध गर्दछौँ ।

४. राष्ट्रलाई आवश्यक पर्ने अनुसन्धान तथा ज्ञान उत्पादनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका चारवटै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाउँदै यि केन्द्रहरुमा पठनपाठन विधिलाई आत्मसात् गर्न आवश्यक छ । सबै अनुसन्धान केन्द्रहरूमा पर्याप्त स्रोत र पूर्वाधारको व्यवस्था गरिनुका साथै विद्यार्थीहरूलाई अनुसन्धानमा सक्रिय रूपमा सहभागी हुने वातावरण सिर्जना गर्न अनेरास्ववियु गम्भीर आग्रह गर्दछ ।

५.प्रभावकारी अनुसन्धानका लागि पर्याप्त श्रोतको व्यवस्थापन जरूरी पर्ने हुनाले विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको ‘रिसर्च ग्रान्ट’ मा उल्लेख्य वृद्दि आवश्यक छ । यु. जी. सी. मार्फत प्रदान गरिने सबै तहका ग्रान्टलाई बढोत्तरी गर्ने प्रबन्ध मिलाउन अनुरोध गर्दछौँ ।

६. त्रिभुवन विश्वविद्यालयमा उपलब्ध भौतिक पूर्वाधारहरू जस्तै पुस्तकालय, होस्टेल, क्यान्टिन लगायतका सुविधाहरूको स्तरोन्नति गर्नुका साथै आवश्यक नयाँ भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्न अनेरास्ववियु आग्रह गर्दछ । यस्ता पूर्वाधारको सुदृढीकरणले विद्यार्थीहरूको शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने विश्वासका साथ यस विषयमा गम्भीर ध्यान दिन अनुरोध गर्दछौँ ।

७. आर्थिक वर्ष २०८२/८३ को बजेटमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले अगाडी सारेको पढ्दै कमाउँदै अवधारणाको व्यवहारिक कार्यान्वयनका लागि पठनपाठनको विधि तथा संरचनामा आवश्यक परिमार्जन गर्न अनेरास्ववियु अनुरोध गर्दछ ।

८. शैक्षिक गुणस्तर पाठ्यक्रममा आधारित हुने भएकाले पाठ्यक्रम विकास केन्द्रलाई प्रभावकारी, सक्रिय र उत्तरदायी बनाउनु अपरिहार्य छ । पाठ्यक्रमलाई व्यवहारिक, समय सापेक्ष र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने दिशामा पुनर्संरचना गरिनु आवश्यक छ । यस सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रमा देखिएको लापर्बाही, ढिलासुस्ती र संरचनागत बेथितिको अन्त्य गर्न अनेरास्ववियु गम्भीर आग्रह गर्दछ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया