काठमाडौं, साउन १० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको छ।
संगठनले जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूमाथि प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका कारण अन्यायपूर्ण मूल्यांकन गरिएर फेल गराइएको भन्दै आक्रोश प्रकट गर्दै सो कदम चालेको जनाएको छ।
विद्यार्थी संगठनका अनुसार, साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूलाई कानुनी प्रक्रिया र सम्बन्धन स्वीकृतिविना नै भर्ना अनुमति दिइ कक्षा सञ्चालन गराइएको छ, जुन कार्यले विद्यार्थीको भविष्यप्रति खेलबाड भएको छ। ती सबै निर्णयमा सदस्य सचिवको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ।
संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विद्यार्थीलाई अन्याय हुने गरि गरिएको पुनः परीक्षा सञ्चालनको निर्णयप्रति हामी गम्भीर आपत्ति जनाउँछौं। यस्ता कार्यले विद्यार्थीप्रति भएको अन्याय ढाकछोप गर्न खोजिएको छ।”
यसअघि पनि संगठनले विभिन्न मागसहित पटक–पटक सिटिइभिटीमा ध्यानाकर्षण गराउँदै मागपत्र बुझाए पनि परिषद्ले कुनै गम्भीरता नदेखाएको आरोप संगठनले लगाएको छ।
संगठनले तत्काल पीडित विद्यार्थीलाई न्याय दिन, जिरी बहुप्राविधिक शिक्षालयमा देखिएको समस्या छानबिन गर्न र गैरकानुनी निर्णयहरूको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया