श्रावण १५, २०८२ बिहिबार July 31, 2025

रानाथारु समुदायमा आज विशेष रूपमा तीज पर्व मनाइँदै

दाजुभाइ र भतिजाको दीर्घायुका लागि निराहार व्रत बस्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, साउन ११ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायले आज परम्परागत रूपमा तीज पर्व मनाइरहेका छन्। अन्य समुदायका महिलाले श्रीमानको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने परम्परा भए पनि रानाथारु समुदायमा भने दाजुभाइ तथा भतिजाको सुस्वास्थ्य र दीर्घायुका लागि यो पर्व मनाउने परम्परा रहिआएको छ।

धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाका अनुसार, श्रावण शुक्ल तृतीयाका दिन रानाथारु समुदायमा विशेष रूपमा तीज मनाउने चलन छ। व्रतालु महिलाहरू दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजाआजा गर्ने गर्छन्।

पूर्व प्रदेशसभा सदस्य मालामती रानाका अनुसार, तीजको अवसरमा महिलाहरू सावनको डोला बनाउँदा प्रयोग भएको डोरी (मुरिया) काटेर नदीमा लग्ने गर्दछन्। साथै, कुसको गाँठोबाट झुरकी बनाउने चलन पनि रहेको छ। विवाहित महिलाहरू सात गाँठो र अविवाहित महिलाहरू पाँच गाँठोको झुरकी बनाएर मुरियासहित नदीमा विसर्जन गर्ने परम्परा छ।

पर्वको पूजाआजा सकिएपछि व्रतालुसहित सम्पूर्ण परिवार मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायत परम्परागत मिठा परिकारहरू सेवन गर्ने चलन छ। साथै, दाजुभाइहरूले व्रतालु दिदीबहिनीहरूलाई आशीर्वादका साथमा सकेको दक्षिणा दिने परम्परा समेत रहिआएको छ।

स्थानीय शिवराज रानाका अनुसार, तीजको केही दिनअघि नै गाउँ–गाउँमा सावन डोलामा रमाउने चलन हुन्छ। तीजपछि पनि महिलाहरू सामूहिक रूपमा पिङ खेलेर उत्सव मनाउने गर्दछन्।

रानाथारु समुदायको सांस्कृतिक महत्वलाई सम्मान गर्दै धनगढी उपमहानगरपालिका, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न पालिकाहरूले तीज पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया