कर्णाली, ११ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनप्रतिनिधि र कर्मचारी जनताका शासक नभई सेवक भएको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले जिम्मेवारी सम्हालेपछि राष्ट्रसेवक हुँ भन्ने धारणा कर्मचारीमा विकास हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएको छ ।
उहाँले भन्नुभयो, “यहाँ जिम्मेवारी सम्हालेपछि तपाईं जस्तै म पनि सेवक हुँ, शासक होइन भनेर मैले हेक्का राखेको छु । अरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछु ।”
मुख्यमन्त्री कँडेलले सेवाग्रहीलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीतन्त्रमा अझै पनि परम्परागत शैली कायम रहेको टिप्पणी गर्दै उहाँले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने जिकिर गर्नुभयो । “मन्त्रीले नीतिगत विषयमा सहजीकरण गर्ने हो । सेवाग्राहीसँग जोडिएका दैनिक विषय कर्मचारीबाटै सम्पादन हुने हुँदा गुनासोरहित सेवा दिन कर्मचारी नै बढी जिम्मेवार हुनुपर्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो,“नागरिकले सरकारका निकायबाट नयाँ ढङ्गले कार्यसम्पादन खोजिरहेको छन् । नियम कानुनले मिल्ने काम पन्छाउने काम गर्नुहुँदैन । नीतिगत समस्या भए मैले सहजीकरण गर्छु, तर गुनासो नआउने गरी कर्मचारीले कार्यसम्मादनमा ध्यान दिन आवश्यक छ ।”
मन्त्रालयका सचिव डा पुष्पराज शाहीले मन्त्रालयले नागरिक घरबिमा, पत्रकार स्वास्थ्य बिमा, विपद् पीडितका लागि राहत जस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गत आर्थिक वर्ष २०८१÷८२ मा मन्त्रालयले ७१ प्रतिशत प्रगति गरेको जानकारी दिनुभयो । रासस
प्रतिक्रिया