काठमाडौं, साउन १७ ।अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म बहाल रहने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधन गरिएको हो।
संशोधित कानुनी व्यवस्थाअनुसार, ऐनको दफा ५४ को उपदफा ३ मा रहेको लाइसेन्सको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। यस्तै, नवीकरण गरिएपछि मान्य हुने अवधि पनि अब १० वर्ष हुनेछ। यसअघि नवीकरणपछि लाइसेन्सको मान्यता अवधि ५ वर्ष मात्र रहने प्रावधान थियो।
सरकारले ल्याएको नयाँ व्यवस्थाले चालकहरूको समय र झन्झट कम हुने, सेवा प्रक्रियामा दीर्घकालीन स्थायित्व आउने र प्रशासनिक कामकाज सहज हुने विश्वास लिइएको छ। साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई समेत अनुमति दिने प्रावधान गरिएको छ। यसले सेवा विस्तार र दक्ष परीक्षण प्रणाली विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णय लागू भएसँगै सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रक्रियामा दीर्घकालीन सुधार आउने र प्रयोगकर्ताहरूलाई राहत पुग्ने जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया