काठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ ।
साहित्यिक पत्रकार सङ्घको आयोजना र भुँडीपुराण प्रकाशन सह आयोजनामा आज उक्त कृतिको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोद प्रधान, अभिनेता सरोज खनालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
पूर्व प्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायपालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताउनुभयो ।
“न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रबिन्दु न्यायालय नै हो”, उहाँले भन्नुभयो, “न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गर्नुभयो ।”
न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ ।” उपन्यासमा सरल भाषा शैली, सान्दर्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उहाँको भनाइ थियो ।
न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिङ्गो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताउनुभयो ।
“उपन्यासमा ६० प्रतिशत वास्तविकता र ४० प्रतिशत काल्पनिक छ”, उहाँले भन्नुभयो, “सौरव भन्ने मूल पात्रले न्यायालयमा प्रवेश गर्छ, इमान्दर भएर काम गर्छ, तर अन्तिममा महाअभियोग लगाइन्छ ।” उहाँले उपन्यास मिठा शब्द र उत्कृष्ट भाषाको प्रयोग लेखिएको राम्रो कृति भएको बताउनुभयो ।
शारदा मासिकका सम्पादक बिमल रोक्काले उपन्यास पढ्नका लागि निकै उपयोगी र जीवन्त भएको बताउनुभयो । अभिनेता खनालले न्यायका लागि मानिसहरू न्यायालय जानैपर्ने र न्यायालयभित्र कस्तो कस्तो अभ्यास भइरहेको छ भन्ने कुरा कृतिमा प्रष्ट भएको बताउनुभयो ।
वरिष्ठ समालोचक प्रधानले उपन्यासको माध्यमबाट जीवनमा सम्झन र बिर्सन लागक घटनाहरूको सँगालो प्रस्तुत गरेको र न्यायसँग सम्बन्धित लेखनीय पाटो सुन्दर भएको अनुभव सुनाउनुभयो ।
उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराउनुभयो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले न्याय पाउनका लागि विश्वसनीय र अन्तिम स्थान न्यायालय भएको र त्यसको महत्त्व उपन्यास पाउन सकिने भनाइ राख्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया