श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी

सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको बारेमा छलफल गर्न सेजनले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पार्नुभएको हो । 

बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उहाँले बजेटलाई सरकारको आयव्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

डा वाग्लेका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ । यद्यपि आर्थिक रुपान्तरणका लागि अहिलेको सिलिङ अपर्याप्त रहेको टिप्पणी पनि उहाँको थियो । 

विगतमा राजस्व क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उहाँले आगामी वर्षका लागि करिब १३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब रुपैयाँ हाराहारी मात्र रहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्नसमेत चुनौती देखिएको उल्लेख गर्दै ऋण परिचालनको आफ्नै दायित्व र सीमाहरू रहेको बताउनुभयो । करिब १९ खर्ब रुपैयाँको बजेटले करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्त्वपूर्ण रहेकाले विनियोजनको कुशलता र कार्यान्वयन क्षमतामा जोड दिईने उहाँले बताउनुभयो ।

सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत गर्दै उहाँले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गरिने बताउनुभयो ।

साथै सामाजिक क्षेत्रमा लगानीलाई पनि समान प्राथमिकता दिइने उहाँको भनाइ थियो । सीमित स्रोत साधनका बीच पनि सुशासन, सहज सेवा प्रवाह, रोजगारी सिर्जनालगायत विषयलाई केन्द्रमा राखेर आर्थिक राजकाजको जहाज मोड्ने गरी बजेट ल्याइने उहाँको भनाइ छ ।

राजस्व परिचालन सुदृढ गर्न कर सुधारलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै उहाँले विद्यमान कर दर अव्यावहारिक भएको गुनासोप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । आयकर र भन्सार दर उच्च भएको विषयमा पुनरावलोकन गरिने र करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो । “कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन”, उहाँले भन्नुभयो ।

बजेट निर्माणमा सत्तारुढ दलको चुनावी घोषणापत्रलाई मार्गदर्शक बनाइने स्पष्ट पार्दै उहाँले मध्यम वर्ग तथा उद्यमी व्यवसायीको सुरक्षालाई केन्द्रमा राखिने बताउनुभयो । खर्च गर्ने क्षमताको कमजोरीका कारण विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै उहाँले कार्यान्वयन क्षमता अभिवृद्धिमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।

रुग्ण बनेका आयोजना, शक्ति र पहुँचका आधारमा बजेटमा समावेश भएका योजना तथा नतिजा नदिने कार्यक्रमहरूलाई बजेटबाट हटाइने सङ्केत पनि अर्थमन्त्री वाग्लेले गर्नुभएको छ । “आसेपासे पुँजीवाद झल्किने कार्यक्रम कटौती गरी सुशासनको सन्देश दिनुपर्छ”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख संवाहकका रूपमा चित्रण गर्दै उहाँले इमानदार व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको तर व्यवसायको नाममा अनियमितता गर्नेप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । लगानीमैत्री वातावरण निर्माणका लागि अव्यावहारिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरिने पनि उहाँले बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धिदर वृद्धि र रोजगारी सिर्जनालाई बजेटको मूल लक्ष्य बनाइने उल्लेख गर्दै करिब सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको दाबी गर्नुभयो ।

जलविद्युत्, खनिज, पूर्वाधार कनेक्टिभिटी, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिने तथा प्रवासी नेपाली (डायस्पोरा) को लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार