काठमाण्डाैंः कैलालीको घोडाघोडी नगरपालिका देउकलिया गाउँका विनोद चौधरीले इन्टरनेटको सदुपयोग गर्दै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेका छन् ।
स्नातक तहमा अध्ययनरत चौधरीले कोरोनाको जोखिमसँगै क्याम्पस अनिश्चितकालीन रूपमा बन्द भएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै इन्टरनेटको सहयोग लिँदै बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरेका हुन् । २२ वर्षीय चौधरीले घरआँगनमै थोरै क्षेत्रफलमा माछा पाल्न सकिने यो प्रविधिका बारेमा आफूले युट्युबमा हेरेर तथा जानकारहरूसंँग सुझाव लिएर माछापालन सुरु गरेको चौधरीले बताए ।
पोखरी निर्माण गर्ने तरिका, भुराको जानकारी र कस्तो दाना कति मात्रामा प्रयोग गर्नेजस्ता जानकारी युट्युुबबाट लिएको उनले बताए । केही अलमल हुँदा अनुभवीको सल्लाह लिन्छु, चौधरीले सुनाए ।
घर नजिकै ढुङ्गा र सिमेन्टको प्रयोग गरेर पोखरी निर्माण गर्नुभएका चौधरीले ३०÷३० हजार घनमिटर पानी जम्मा हुने दुईवटा पोखरी निर्माण गरेर १० हजार माछाका भुरा हालेका छन् ।
करिब पाँच लाख लगानीमा बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए । उच्च शिक्षासँंगै कृषि पेसामा लागेका चौधरीले भने, ‘विदेश पलायन हुने युवाले कृषि कार्यमा अर्काको देशमा पसिना बगाउनु परेको हुन्छ । मैले आफ्नै देशमा कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने सोच राखेको छु ।’ यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया