काठमाडौं । विद्यालय शिक्षा विधेयक ल्याउन सरकारले ढिलाइ गरिरहेपछि १६ विद्यार्थी संगठनले तत्काल विधेयक ल्याउन माग गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विधेयक हाल समितिमा छलफल भइरहेको छ । समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीसहितको बैठक आज अपराह्न ३ बजेका लागि तय गरिएको छ । यसअघि सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्र विधेयक ल्याउने सहमति गरेको थियो । तर, सो सहमति कार्यान्वयन नभएपछि शिक्षकहरूले भदौ दोस्रो सातादेखि आन्दोलनको घोषणा गरेका छन् ।
सोही सन्दर्भमा विद्यार्थी संगठनहरूले पनि चासो देखाउँदै सिंहदरबार पुगेर सभापति थापासमक्ष ५ बुँदे मागपत्र बुझाएका हुन् । विज्ञप्तिमा भनिएको छ, “विद्यालयका शिक्षक कर्मचारीको व्यवस्थापनसँगै विद्यालय शिक्षाको गुणात्मक रूपान्तरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले निशर्त लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ ।”
मागहरू तत्काल सम्बोधन नभएमा संयुक्त विद्यार्थी संगठनहरूले संघर्षका ठोस कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया