कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन माग

प्रारम्भिक रूपमा ३०० शैयाको अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई माग गरेको छ।

गोदावरी नगरपालिका–५ स्थित विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउँदै पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा सक्रिय पहल गर्न आग्रह गरेको हो।

समितिका अनुसार विश्वविद्यालय विधेयक सर्वसम्मत रूपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भइसकेको छ। तर ऐन कार्यान्वयनमा आएको भए पनि हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि नबढेको समितिले आरोप लगाएको छ।

ज्ञापनपत्रमा समितिले यसै आर्थिक वर्षभित्रै एमबीबीएस अध्ययनका लागि सिट संख्या निर्धारण प्रक्रिया सुरु गर्न र ६०० शैयाको अस्पताल निर्माणको तयारीमा प्रारम्भिक रूपमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि विशेष पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ।

समितिले भनेका छन्, “विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको अवस्थामा हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। कुलपति सम्माननीय प्रधानमन्त्री, सह–कुलपति शिक्षामन्त्री तथा अन्य पदेन सदस्यहरू रहने व्यवस्था भएको यस विश्वविद्यालय सभामा माननीय मुख्यमन्त्री स्वयं पनि पदेन सदस्य हुने भएकाले उहाँको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।”

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले प्रक्रिया अघि बढाउन केही जटिलता देखिएको भए पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले केही दिनअघि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री र स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको जानकारी पनि दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया