काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार तोलामा २ हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ थियो। तर, शुक्रबार अचानक बढेर सुनको दर २ लाख १० हजार नाघ्दा सुन किनबेच गर्नेहरूमध्ये उत्साह र चिन्ता दुवै देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई २ हजार ४९० रुपैयाँ पुगेको छ। पछिल्ला केही दिनयता चाँदीमा स्थिरता देखिए पनि शुक्रबार भने सँगसँगै वृद्धि भएको हो।
सुनको मूल्य वृद्धिका कारण सामान्य उपभोक्ता र विवाह, पूजाआजा वा अन्य प्रयोजनका लागि सुन किन्न चाहनेहरूलाई थप भार पर्न पुगेको छ। अर्कोतर्फ, लगानीकर्ताहरूले भने सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्दै माग निरन्तर बढाइरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुत स्थिति, महँगाइ, र भू-राजनीतिक अनिश्चितताका कारण सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको विज्ञहरूको विश्लेषण छ। यस्तै, फेडरल रिजर्भको ब्याजदर सम्बन्धी निर्णयले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको बताइन्छ।
व्यवसायीहरूका अनुसार आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव रहने सम्भावना उच्च छ। अन्तर्राष्ट्रिय बजारको अवस्था, भारतीय बजारमा हुने कारोबार, र नेपाली रुपैयाँको अवमूल्यनले पनि सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने भएकाले उपभोक्ताहरूले सचेत रहनुपर्ने चेतावनी दिइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया