कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पर्सामा आजदेखि सरकारी कार्यालय र विद्यालय खुल्दै

आजबाट विद्यालय खोलेर विद्यालयको कक्षाकोठा तथा शौचालय सरसफाइ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा)।जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ । गत भदौ २३ र २४ गतेको विषम परिस्थितिले यहाँको सरकारी कार्यालयको सेवाप्रवाह र विद्यालयको पठनपाठन कार्य ठप्पजस्तै रहेको थियो ।

तर, यहाँको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै गइरहेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आजदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित रूपमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । “हालैको आन्दोलनका कारण सेवा प्रभावित भएका कार्यालयले आइतबारदेखि नियमित रूपमा सेवाप्रवाह गर्नका लागि अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो, “आन्दोलनको क्रममा क्षतिग्रस्त भएका कार्यालयको हकमा ‘सर्भिस डेलिभरी प्लान’ बनाई यथाशक्य चाँडो सेवा प्रवाह हुने व्यवस्था गर्न अनुरोध गर्दछु ।”

त्यसैगरी, वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि आजदेखि विद्यालय खोलेर आवश्यक सरसफाइका काम अघि बढाउन अनुरोध गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज विद्यालय खोलेर विद्यालयको कक्षाकोठा तथा शौचालय सरसफाइ गर्न अनुरोध गर्नुभएको छ । “विद्यालयको खानेपानीको ट्याङ्कीलगायतमा अनिवार्य रूपमा क्लोरिन राख्न पनि अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो, “विद्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य अघि बढाउन पनि अनुरोध गरिन्छ ।”

जिल्ला प्रशासन कार्यालयले पनि शनिबारदेखि निषेधाज्ञाको समय बढाएर रातको समयमा मात्र कफ्र्यू कायम राखेको छ । यहाँको बजार क्षेत्रमा पनि सर्वसाधारणको चहलपहल पनि विस्तारै बढ्दै गइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया