असार २५, २०८२ बुधबार July 9, 2025

अर्थतन्त्र उजाड, सेयर बजारमा हरियाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर संकटमा रहेका वेला अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा भने हरियाली छाएको छ । लकडाउनका वेला बन्द रहेको सेयर बजार खुलेपछिका दुई महिनामा सेयर बजार ३ सय ३२ अंकले बढेको छ । १५ असारमा ११ सय ७८ अंकमा रहेको नेप्से बिहीबार १५ सय १० बिन्दुमा पुगेको छ । नेप्से सूचकमा मात्रै होइन, दैनिक  कारोबार रकम पनि पाँच महिनायताकै उच्च ४ अर्ब १८ करोड रुपैयाँ भएको छ ।

मुलुकको आर्थिक वृद्धि ऐतिहासिक रूपमा कमजोर हुँदै माइनसमा जाने सम्भावना छ । ६ महिनादेखि लगातार आर्थिक गतिविधिमा अवरोध हुँदा कृषिबाहेककै क्षेत्रबाट २५ देखि ३५ लाख नेपालीले रोजगारी गुमाइसकेको अनुमान छ । त्यति मात्रै होइन, सेयर बजारमा सूचीकृत कम्पनीहरूको नाफाको दर पनि तीव्र रूपमा घटेको छ । बैंकहरूले बाँड्ने प्रतिफल दर १८ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ । समग्र अर्थतन्त्र मात्रै होइन, सेयरमै लगानी गर्दा प्राप्त हुने प्रतिफल घट्दासमेत बजार गुल्जार भइरहनु भने आश्चर्यको विषय हो ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तर  लगानीको अन्य क्षेत्र खुम्चिएका कारण सेयर बजारमा सकारात्मक प्रभाव परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘तरलताकै कारण सेयर बजार छ, तर यसमै मात्रै आधारित भएर बजार बढ्नु ठीक हो वा होइन, मेरो बुझाइभन्दा बाहिर छ,’ उनले भने ।

अन्य क्षेत्रमा लगानी माग नहुँदा बैंकहरूले बोलाएरै सेयर कर्जा दिइरहेको लगानीकर्ता बताउँछन् । जसले गर्दा आयातमा लाग्दै आएका व्यापारीदेखि लगानी क्षेत्र नपाएकाहरूले सेयर बजारमै पैसा खन्याइरहेका छन् । विशेष गरेर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा समूहले कारोबार रकममा उचाइ थपिरहेको छ । तर, सेयर बजारको करिब ७५ प्रतिशत हिस्सा यही क्षेत्रमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकहरूमा २ खर्ब रुपैयाँ अधिक तरलता छ । सामान्य अवस्थामा प्रणालीमा ६०–६५ अर्ब रुपैयाँ अधिक तरलता हुन्थ्यो । लकडाउन सुरु हुनुअघि १२–१५ प्रतिशतसम्म रहेको ब्याजदर घटेर ८–९ प्रतिशतसम्ममा आइपुगेको छ । कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले बजारमा तरलता बढाउने तथा ब्याजदर घटाउने नीति लिएकाले यो स्थिति सिर्जना भएको हो । त्यस्तै, बैंकहरूलाई सेयर धितोमा कर्जा प्रवाह गर्ने मार्जिन पनि प्रशस्त बाँकी छ । बैंकहरूले गत असारसम्म सेयर धितो (मार्जिन प्रकृतिको कर्जा) मा ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरूले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशतसम्म मार्जिन प्रकृतिको कर्जा दिन पाइने व्यवस्था छ । गत असारसम्म बैंकहरूसँग करिब ४ खर्ब ८१ अर्ब ६६ करोडमा प्राथमिक पुँजी छ । यस आधारमा बैंकहरूले थप १ खर्ब ४२ अर्ब लगानी गर्न सक्ने ठाउँ छ । सोही कारण कर्जा लगानीमा समस्या खेपिरहेका बैंकहरूले सेयर धितो कर्जा बढाइरहेका छन् । तर, अन्य कर्जाहरू पनि गइरहेकाले यसैमा केन्द्रित नभएको दाहालको दाबी छ । ‘हुन त व्यक्तिगत रूपमा जाने कर्जा पनि सेयर बजारमा गएको हुन सक्छ,’ उनले भने, ‘लकडाउन र निषेधाज्ञाको समयमा सेयरबाहेक जलविद्युत् आयोजना, आवासलगायतमा कर्जा गएको छ ।’ जोखिम नै बढ्ने गरेर बैंकहरूको लगानी सेयर केन्द्रित भने नभएको दाहालको स्पष्टीकरण छ ।

दैनिक कारोबार रकमका आधारमा हालसम्मकै उच्च कारोबार रकम ४ अर्ब ८४ करोड रुपैयाँ हो । अहिले दैनिक ४ अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । सामान्य अवस्थामा भन्दा यो कारोबार रकम बढी हो । ३० वैशाखदेखि ४ साउनमा दैनिक औसत ७१ करोड रुपैयाँको कारोबार भइरहेको थियो । अनिश्चितताका कारण सो समय बजार वृद्धिकै दिशामा भए पनि कारोबार रकम भने वृद्धि हुन सकेको थिएन । तर, पछिल्लो १७ कारोबार दिनमा नेप्से वृद्धिको दिशामा मात्र देखिएको छैन, दैनिक औसत कारोबार १ अर्ब ६९ करोड पुगेको छ ।

बैंकहरूको अघिल्लो आव ०७५/७६ मा औसत प्रतिफल १८ दशमलव ५ प्रतिशत थियो । अहिले बढीमा औसत १२ प्रतिशत मात्रै लाभांश दिन सक्ने अवस्थामा छन् । ६ प्रतिशतभन्दा कम लाभांश पाउने अवस्थामा पनि बजार भने बढिरहेको छ । बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेका कारणसमेत सेयर बजारमा पुँजी भित्रिएको आकलन छ । बैंकको निक्षेपमा पाउने ब्याज र सेयरमा पाइने प्रतिफलमा खासै अन्तर नहुने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् ।

उनी भन्छन्, ‘निक्षेपकर्ताले १ सय रुपैयाँमा ब्याज पाउँछन्, तर ३–४ सय रुपैयाँ हालेर किनिएको सेयरबाट पाइने लाभांश दर कम हुन आउँछ ।’ तिवारीले भनेजस्तै बजारमा कारोबार भइरहेको ३ सय रुपैयाँको सेयरमा १२ प्रतिशत प्रतिफल पाउनु भनेको वास्तवमा ४ प्रतिशत मात्र हो । अहिले बैंकहरूले असोजसम्म उठ्ने कर्जालाई पनि आधार मानेर गत आर्थिक वर्षको वित्तीय विवरणमा जोड्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । तैपनि, खासै प्रगति देखिएको छैन । हाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतका कारण बैंकहरूको कर्जा खराब हुन पाएको छैन, तर कर्जाको गुणस्तर भने खस्किएको छ । तरलता आडमा बैंकहरूले नै नेतृत्व गरेको सेयर बजारमा यस्ता प्रभाव नदेखिनुले बजारमै पनि जोखिम बढाएको छ ।

बिमा र निर्जीवन बिमा कम्पनीमा पनि लगानीकर्ता आकर्षित भएका छन् । मूलतः जीवन बिमा कम्पनीहरूले अघिल्लो आवको नाफाबाट लाभांश दिनै बाँकी छ । बजारमा रहेका सातमध्ये दुइटाले मात्र आव ०७५/७६ को लाभांश घोषणा गरेका छन् । पुरानो वर्षकै लाभांश बाँकी रहेकाले पनि यस क्षेत्रमा आकर्षण छ । निर्जीवन बिमा, लघुवित्तलगायतका साना पुँजीका कम्पनीहरूको सेयरमा खेल्न सकिने भएकाले पनि चलाख लगानीकर्ता मिलेमतोमा यसमा लागेको स्रोत बताउँछ ।

लकडाउनका कारण दुर्घटना कम हुँदा निर्जीवन बिमा कम्पनीहरूमा दाबी कम पर्ने अवस्था बनेकाले पनि केही लाभ पुगेको छ । तर, निर्जीवन बिमा कम्पनीहरूको गत आर्थिक वर्षमा मात्रै ७ प्रतिशतले नाफा बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसअघि यी कम्पनीहरूको नाफा ३ अर्ब २५ करोड थियो ।

जीवन बिमा कम्पनीहरूको पनि नाफा ४ प्रतिशतले मात्रै वृद्धि भएर ४ अर्ब रुपैयाँ पुगेको थियो । यसअघि ३ अर्ब ७२ करोड नाफा गरेका थिए । कतिपय निर्जीवन बिमा कम्पनीहरूले केही वर्षदेखि लाभांश दिएका छैनन् भने केही मात्रले गत आर्थिक वर्षबाट लाभांश दिएका छन् । औसतमा निर्जीवन बिमा कम्पनीहरूले करिब ९ प्रतिशत हाराहारी लाभांश घोषणा गरेका छन् । लकडाउन र निषेधाज्ञाले दुवै किसिमका बिमा कम्पनीहरूको व्यवसायमा समेत समस्या परिरहेको छ ।

‘जीवन बिमा योजनाहरूको बिक्री गर्न चहलपहल हुनुपर्छ,’ सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने, ‘पुराना कम्पनीहरूलाई नयाँ ग्राहक बढाउन र भएकैको बिमा नवीकरण गर्न पनि समस्या छ ।’ सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगानीको मुख्य माध्यम रहेको निक्षेपमा समेत ब्याजदर कम भएकाले यसबाट हुने प्रतिफलसमेत घट्न थालेको बताउँछन् । ‘लगानी गर्ने ठाउँ अभाव भएको छ, बैंकको ब्याजदर घटेकाले यसबाट हुने प्रतिफलसमेत खुम्चिने अवस्था भने छ,’ पाण्डेले भने ।

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पदको समयावधि सकिन लागेकाले उनी मन्त्रीमा नरहने चर्चाबीच बजार वृद्धिको दिशामा अगाडि बढेको थियो । जसलाई अहिले बजारमा बढ्दो तरलता र लगानी क्षेत्र अभावले मलजल गरेको छ । बजारमा केही मात्र सेयरहरू ओभर भ्यालुड भएकाले बजार घट्नैपर्छ भन्ने होइन । तर, आर्थिक, व्यावसायिक वातावरणसमेत अनिश्चित बनिरहँदा पनि वृद्धि स्वाभाविक भने नदेखिने सरोकारवालाहरू बताउँछन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार