असोज २८, २०८२ मंगलबार October 14, 2025

लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प : राष्ट्रपति पौडेल

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गर्नुभएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गर्नुभएको हो ।

उहाँले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाँले पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गर्नुभयो । उहाँले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेन्जीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताउनुभएको थियो । उहाँहरूले यो शङ्का र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताउनुभएको थियो ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिता बिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो । जेनजीहरू हामीहरू सबैको छोरा नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई उहाँले आग्रह गर्नुभयो ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी हुनुहुन्थ्यो ।

सो बैठकमा नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया