कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एसइईमा सफलता दर वृद्धि लक्ष्यसहित कृष्णपुर नगरपालिकाको शिक्षामा विशेष अभियान

नगरका सबै विद्यालयमा आधारभूत पूर्वाधार र सिकाइ सामग्री उपलब्ध गराउने योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, २६ असोज : कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो ।

नगरप्रमुख हेमराज ओझाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षामा कुनै विद्यार्थी पछि नपरोस्, प्रत्येक विद्यालय सफलताको केन्द्र बनोस् र कृष्णपुर नगरपालिका शिक्षामा उदाहरणीय बनोस् भन्ने ध्येयले पढाइलाई गुणस्तरीय बनाउन लागेका छौँ ।”

नगर क्षेत्रभित्रका १३ माविका प्रधानाध्यापकहरूसँग शिक्षाको गुणस्तर सुधार गरी एसइईमा उत्कृष्ट नतिजा हासिल गर्नका लागि छलफल गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्यालय शिक्षाको मूल्याङ्कन प्रणाली सुधार, प्राविधिक शिक्षण प्रविधिको उपयोग र विद्यार्थीको सिकाइ मूल्याङ्कनमा नवीनतम् विधि अपनाउन प्रध्यानाअध्यापकहरूसँग छलफल गरिएको छ ।

शिक्षा शाखा प्रमुख गणेशबहादुर चन्दले विद्यालयको सिकाइ परिणाम सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन र अभिभावक सचेतना कार्यक्रम सञ्चालनका योजना अघि सारिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय शिक्षा सुधार गर्न अपनाउनुपर्ने शिक्षण विधिसहित भौतिक पूर्वाधारको अवस्था, शैक्षिक सामग्रीको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरेका थिए । नगरपालिकाले विद्यालयहरूमा डिजिटल शिक्षण विधि, शिक्षक क्षमता विकास तालिम र विद्यार्थी प्रेरणालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एसइई परीक्षामात्र नभएर आधारभूत तहदेखि माध्यमिक तहसम्मको समग्र शिक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख ओझाले नगरका सबै विद्यालयमा आधारभूत पूर्वाधार र सिकाइ सामग्री उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया