मुम्बई । दक्षिण भारतीय अभिनेता एवम् निर्देशक ऋषभ शेट्टीको ‘कान्ताराः च्याप्टर १’ले पहिलो साता बक्स अफिसमा उत्साहपूर्वक व्यापार गरेको छ । कन्नड चलचित्र इतिहासमा यो सबै भन्दा ठुलो व्यापार गर्ने चलचित्रको सूचीमा परेको छ । यो चलचित्रले रजनीकान्तको यस अघिको कुली, जेलर जस्ता सफल चलचित्रको व्यापारलाई समेत पछि पारेको छ ।
यो चलचित्रले रिलिज भएको नवौँ दिन शुक्रवारसम्म भारतीय बक्स अफिसबाट ३५९.७५ करोड रुपैयाँको नेट व्यापार अर्थात् ४३२ करोडको ग्रस व्यापार गरिसकेको छ । यो चलचित्रको विश्वव्यापी बक्स अफिसको नेट कमाई शुक्रवारसम्म ५४० करोड रुपैयाँभन्दा माथि पुगेको छ ।
‘कान्ताराः च्याप्टर १’को बुधवार र बिहीबार केही कमाई घटे पनि यो चलचित्रको व्यापार शुक्रवार फेरी पुरानै लयमा फर्किएको छ । अहिलेसम्मको व्यापार हेर्दा पछिल्लो हिट चलचित्र ‘कुली’ र ‘वार २’ लाई पनि व्यापारमा पछि पारेको छ । चलचित्र ‘कुली’ले विश्वव्यापी रूपमा ५१८ करोड रुपैयाँ र चलचित्र ‘वार २’ले विश्वव्यापी रूपमा ४७५ करोड रुपैयाँको कुल व्यापार गरेको थियो । पछिल्लो समयका यी दुई ठुला चलचित्रलाई समेत ऋषभ शेट्टीको कान्ताराः च्याप्टर १’ले नौ दिनमै पछि पारेर आफूलाई अब्बल साबित गरेको छ । यो चलचित्रले आइतबारसम्म विश्वव्यापी रूपमा ६ करोड भन्दा माथिको कमाई गर्ने भएको छ ।
चलचित्र कान्ताराः अ लेजेन्ड च्याप्टर १’ भारतमा सर्वाधिक कमाउने चलचित्रको सूचीमा १८ औँ स्थानमा पुगिसकेको छ । अर्को सातासम्मको व्यापार हेर्दा यो चलचित्र उत्कृष्ट १० को सूचीमा पर्ने अनुमान गरिएको छ । यो चलचित्रले दोस्रो साताको अन्तिमसम्म ८०० करोडभन्दा माथिको कमाई गर्ने यस चलचित्रका वितरकहरूको कथन छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया