काठमाडौंः संस्थागत शिक्षक संगठन (इष्टु) मकवानपुरले पारिश्रमिक नपाएपछि प्याब्सन मकवानपुरमा आज बिहान ताला लगाएका छन् । पारिश्रमिक विषयमा इष्टु मकवानपुरले चाँडो निकास निकाल्नका लागि प्याब्सनलाई जानकारी गराए पनि चासो नदिए पछि ताला लगाएको हो ।
निजी क्षेत्रको विद्यालयमा सरकारले शिक्षकहरुका लागि कुनै चासो नदिएकाले बाध्य भएर ताला लगाएको इष्टु मकवानपुरले जनाएको छ । अझैपनि चासो नदिएमा कडा आन्दोनमा जान तयार भएको इष्टुको चेतावनी छ ।
१३ भदौमा प्याब्सन जिल्ला समिति र हेटौँडा नगर समितिले विज्ञप्ति जारी गर्दै शुल्क नउठ्दा आर्थिक भार थेग्न नसकेका कारण भदौदेखि तलब दिन नसक्ने बताएको थियो । उक्त निर्णय फिर्ता लिन शिक्षकहरुले प्याब्सनलाई तीन दिने अल्टिमेटम पनि दिएका थिए । तर, प्याब्सनले शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदेखाएपछि उनीहरु आन्दोलित बनेका हुन ।
इष्टुले जिल्ला समिति र हेटौँडा नगर समितिले निर्णय फिर्ता लिन आग्रह गर्दै आन्दोलन गर्ने चेतावनी दिएको थियो । इष्टुले आन्दोलनले माग पूरा नभएपछि आन्दोलनका कार्यक्रमहरु तय गरेको हो ।
इष्टुले २० भदौमा प्याब्सन कार्यालयमा तालाबन्दी, २१ भदौबाट २०७६ साल चैतसम्मको तलब निकासी नगर्ने विद्यालयको नामावली प्रकाशन गर्दै सेवा सुविधा निकासीका लागि तीन दिनको समयावधि दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।
इष्टुद्वारा जारी हुने कालोसूचीमा परेका विद्यालयको तालाबन्दी सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया