काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई ६३ बुँदे विशेष निर्देशन जारी गरेको छ। निर्देशन शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन र आसन्न निर्वाचन तयारीसँग सम्बन्धित मुख्य बुँदाहरू समेटिएको छ। गृहसचिव स्तरीय निर्णयअनुसार जारी निर्देशनले आम नागरिकले महसुस गर्नेगरी सुरक्षा र सुशासन सुनिश्चित गर्न जोड दिएको छ।
निर्देशनअनुसार जिल्लाभित्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न, लागुऔषध र अवैध गतिविधिलाई नियन्त्रण गर्न, कार्यालय सेवालाई सरल र पारदर्शी बनाउन, विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न, तथा निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सीडीओहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ। बजार अनुगमन, कालोबजारी रोकथाम र सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह नियन्त्रण गर्न समेत निर्देशनमा समावेश गरिएको छ।
आसन्न फागुन २१ का निर्वाचनलाई मध्यनजर गर्दै, गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि र भूमिगत समूहका सम्भावित खतराहरूको पहिचान र नियन्त्रणमा ध्यान दिन सीडीओहरूलाई अनुरोध गरेको छ। यसैगरी, नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा, सुशासन र सेवाप्रवाह सुनिश्चित गर्ने दायित्वमा कुनै कसर बाँकी नराख्न पनि निर्देशनमा जोड दिइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया