कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

चलचित्र ‘वरिष्ठ बलराम’लाई दर्शकको साथ

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ कात्तिक । तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् ।

प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो ।

अभिनेता बरालले भने,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक विषयलाई समेटेर मनोरञ्जनात्मक चलचित्र तयार गरेका हौँ । दर्शकले पनि सोही किसिमको प्रतिक्रिया दिनुभयो, दशर्कबाट प्राप्त सुझावले हाम्रो टोलीलाई ऊर्जासहित हौसला मिलेको छ, चलचित्रको सुरुआति दिन राम्रो छ ।”

प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवं उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शक दीर्घाबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको प्रतिक्रिया प्राप्त भएको अभिनेता बरालले बताए ।

रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता बराल र राईले उक्त चलचित्रमा समान्तर भूमिका निर्वाह गरेका छन् । यसअघिका चलचित्रमा भने अभिनेता राई मुख्य र बराल सहायक भूमिकामा देखिन्थ्यो ।

चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारले अभिनय गरेका छन्।

यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया