कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

कात्तिके वर्षा र हिमपात : हजारौँ पर्यटक प्रभावित

पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक १२ गते । वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन ।

सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा पुगेका पर्यटक होटेलमै रोकिएका छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका हुन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरुद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन् ।

पदयात्रा नगर्न अनुरोध

मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पर्यटकको बाक्लो आहोरदोहोर हुने मुख्य याममै भएको हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । उहाँले भन्नुभयो, “हिमपातका कारण उपल्लो मनाङमै रोकिएका ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । हिमपातले सडक, पदमार्ग र सम्पर्क मार्ग सबै प्रभावित भए पनि पर्यटक सुरक्षित छन् ।”

प्रशासनले मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरेको जानकारी दिँदै अहिले विभिन्न पदमार्ग, तिलिचोताल र थोराङ्ला भन्ज्याङ पार, फु, अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका क्षेत्रको पर्यटक आवागमन प्रभावित भएको उहाँको भनाइ छ ।

अर्को हिमाली जिल्ला मुस्ताङको भ्रमणमा निस्केका पर्यटकले पनि सडकमार्गको यात्रामा सास्ती खेप्नु परेको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले हिमपातका कारण विदेशी तथा आन्तरिक पर्यटकलाई कागबेनीदेखि उपल्लो मुस्ताङ जान रोक लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले जिल्लामा दैनिक सरदर पाँचदेखि सात हजार पर्यटक भित्रिने गरेका छन् । हिमपातका कारण बाटो अवरुद्ध नभए पनि हिमाली भेगको जनजीवन अस्तव्यस्त बनेको छ । अहिलेका लागि खानपिन र बसोबासमा समस्या छैन । हामीले होटेल व्यवासायीलाई पनि पाहुनालाई सहजै सेवा दिन भनेका छौँ ।”

पदयात्राको सिजन पर्ने यो समयमा परेको बाक्लो हिमपातले हिमाली क्षेत्रको पदयात्रामा निस्केका आन्तरिक र बाह्य पर्यटकको यात्रा प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । धवलागिरि सर्किट, हिडन भ्यालीलगायतका पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटक आपत्को अवस्थामा भने नरहेको उहाँको भनाइ छ । तिहारलगत्तै मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक र बाह्य पर्यटकको अहिले मुस्ताङमा भिडभाड रहेको छ । मुस्ताङमा ३५० वटा होटेल छन् । ती होटेलमा एक रातमा १२ हजार पाहुना अट्ने क्षमता भएकाले खानपिन र बसोबासको कुनै समस्या नभएको जनाइएको छ ।

उता सगरमाथा क्षेत्रमा भएको हिमपताका कारण हिमाली पर्यटन प्रभावित भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले पर्यटक सबै होटेलभित्रै रहेको बताउनुभयो ।

कात्तिक १ देखि १० गतेसम्म पाँच हजार ३९० जना पर्यटक लुक्लाबाट जिल्ला प्रवेश गरेको जानकारी दिँदै उहाँले हाल लुक्लाभन्दा माथि करिब दुई हजार पर्यटक भएको र बाक्लो हिमपात भएको क्षेत्र लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको बताउनुभयो ।उत्तरी गोरखाको विभिन्न स्थानमा भएको भारी हिमपातका कारण  लार्केपास र मनासलु क्षेत्रको भ्रमणमा गएका पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दो र सामागाउँमा रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि हिमपातपछि सूचना जारी गर्दै अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाएको छ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटक सुरक्षित रहेका छन् । पर्यटन विभागले आरोहण तथा पदयात्राका क्रममा समस्यामा परेका पर्यटकलाई उद्धार गर्न सम्पर्क व्यक्ति तोकेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार