कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

छाया सेन्टरको त्यो बैठक : कांग्रेस, एमाले, जेनजी एकै ठाउँ

संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन राजनीतिक दलहरुबिच अग्रिम सहमति हुनुपर्ने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । जेनजी पुस्ताको मागका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रूपमा छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा मंगलबार जेनजी पुस्ताका प्रतिनिधि, कांग्रेसका प्रतिनिधि र एमालेका प्रतिनिधिबिच छलफल भएको थियो।

छलफलमा कांग्रेसबाट डा. प्रकाशशरण महत र रामहरि खतिवडा, एमालेबाट महेश बस्नेत र जयराम थापा तथा जेनजीका तर्फबाट १० भन्दा बढी युवा सहभागी थिए। पहिलो चरणमा भएको उक्त छलफलमा जेनजी पुस्ताका प्रतिनिधिले पुराना राजनीतिक दलहरूलाई बाहिर राखेर अघि बढ्न नसकिने धारणा राखेका थिए। कांग्रेस र एमालेका प्रतिनिधिले पनि जेनजीका माग सम्बोधन गर्नुपर्ने र त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गरी अघि बढ्नुपर्ने बताएका थिए।

छलफलमा सहभागी कांग्रेसका खतिवडाले जेनजीका अगुवासँग कुराकानी भैरहेको बताए। उनले कुराकानी भएको पुष्टि गरे पनि विषय भने खुलाउन चाहेनन्। उनले छलफलमा एमालेबाट बस्नेत र थापा सहभागी भएको पुष्टि गरे। ‘जेनजी साथीहरूसँग सामान्य कुराकानी र छलफल भैरहेको छ, यस्तो छलफल हुनुलाई सामान्य रुपमा लिनुपर्छ, भेटघाट हुनु राम्रो हो’, खतिवडाले भने।

जेनजी आन्दोलनअघि सत्ताको नेतृत्व गरिरहेको एमाले प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा लबिइङ गरिरहेको छ। यसै क्रममा उसले कांग्रेस र जेनजीसँग छलफल गरेको हो।

ओली निवासमा भएको छलफलअघि एमालेका नेताले ठमेलस्थित छाया सेन्टरमा पनि जेनजीका अगुवासँग कुराकानी गरेका थिए। एमालेका नेता बस्नेत र थापाले जेनजीका अगुवासँग कुराकानी गरेपछि उनीहरूलाई ओलीसँग पनि भेट गराइएको थियो। ओलीसँग भेटघाट गर्नुअघि कांग्रेसका महत, खतिवडा, एमालेका बस्नेत र थापा तथा जेनजीका अगुबाबिच छलफल भएको थियो।

‘राजनीतिक दलहरुलाई बाहिर राखेर चुनाव गर्न सकिँदैन, चुनाव जेनजीको माग होइन, भ्रष्टाचार र सुशासन जेनजीको माग हो, हाम्रो आन्दोलन हाइज्याक भयो, यो सरकारले चुनाव गराउने छाँटकाँट छैन, प्रतिनिधिसभा पुनः स्थापानको बाटोमा गएर संविधान संशोधन गरी जेनजीका माग सम्बोधन गर्नुपर्छ’, जेनजीका तर्फबाट छलफलमा सहभागी अगुवालाई उद्धृत गर्दै स्रोतले भन्यो।

छलफलमा सहभागी एक नेताका अनुसार सरकार असंवैधानिक छ भन्नेमा सबैको मत रह्यो। ‘छाया सेन्टरमा भएको छलफलपछि कांग्रेसका साथीहरुसहित पुनः छलफल गरिएको हो’, एमालेका एक नेताले भने।

स्रोतका अनुसार मंगलबार दिनभर जेनजी अगुवासँग भएको छलफलपछि साँझ एमाले अध्यक्ष ओलीले समस्या समाधानका लागि ६ बुँदे मार्गचित्र प्रस्तुत गरेको बताइन्छ। ओलीले मंगलबार साँझा प्रतिनिधिसभा पुनः स्थापानपछि जेनजीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरी फागुन २१ मै निर्वाचन गर्न सकिने भन्दै ६ बुँदे मार्गचित्र सार्वजनिक गरेका थिए।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका काराण प्रधानमन्त्री पदबाट राजीनाामा दिएर सत्ताबाट बाहिरिएका ओलीले मंगलवार भक्तपुर गुण्डुस्थित निवासबाट मुलुकमा उत्पन्न राजनीतिक समस्या समाधानका लागि ६ बुँदे मार्गचित्र सार्वजनिक गरेका हुन्।

ओलीले मार्गचित्र सार्वजनिक गर्ने बेलामा मानव अधिकार क्षेत्रमा कार्यरत एमालेनिकट मानिने मानवअधिकार अलान्यसको प्रतिनिधिमण्डल पनि सँगै थियो। एमाले केन्द्रीय सदस्य विष्णु रिजालले ओलीले प्रतिनिधिसभा पुनःस्थापनासहित ६ बुँदे मार्गचित्र अगाडि सारेको जानकारी दिएका हुन्।

‘वर्तमान संकट समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मार्गचित्र’ नाम दिएर ६ बुँदा रिजालले सार्वजनिक गरेका छन्। जसअनुसार असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्ने ओलीको पहिलो प्रस्ताव छ।

गत असोज ३१ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालन र जनआन्दोलनमार्फत दबाब सिर्जना गर्ने निर्णय लिएको थियो। त्यस्तै ओलीले प्रतिनिधिसभा पुनःस्थापनालगत्तै संविधान संशोधन गरी सांसद नभएको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्न सकिने मार्गचित्रको दोस्रो बुँदामा उल्लेख छ।

प्रतिनिधिसभा पुनःस्थापनापछि ओली प्रधानमन्त्री नबन्ने पनि मार्गचित्रमा उल्लेख छ। ‘जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीमा दाबी नगरिने स्पष्ट पार्छु’ रिजालले ओलीका तर्फबाट सार्वजनिक गरेको मार्गचित्रमा उल्लेख छ।

ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन गर्नुपर्ने भन्दै त्यही सरकाले तीन महिनाभित्र निर्वाचन गर्ने र फागुन २१ कै घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको जिकिर गरेका छन्। संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन राजनीतिक दलहरुबिच अग्रिम सहमति हुनुपर्ने प्रस्ताव पनि ओलीको छ।

दलहरुसँग संवादमा रहेका जेनजी प्रतिनिधिहरू बुधबार प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि सहभागी भए। सरकार, जेनजी र राजनीतिक दलसहितको उक्त छलफलमा जेनजी अगुवाले चुनाव मात्रै भनेर नहुने बताएका थिए। उनीहरूले जेनजी आन्दोलनको मुख्य माग सुशासन भएको बताएका थिए। ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ उनीहरूलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै अजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’ छलफलमा जनेजीका तर्फबाट १५ प्रतिनिधि सहभागी थिए। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार