कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

सुनकोसी-मरिण डाइभर्सन आयोजना: सुरुङ बनिसक्यो, बाँध निर्माण सुस्त

निर्माण सम्पन्न गर्ने उल्लेख छ। निर्माण सम्पन्न गर्नुपर्ने समय अब करिब २२ महिना बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । यो वर्ष तराईमा ढिला वर्षा हुँदा किसानले समयमै धान रोप्न पाएनन्। सिँचाइको सुविधा नहुँदा किसानले बेलैमा धान रोप्न नपाएका हुन्। अन्नभण्डार मानिने तराईमा सिँचाइ सुविधा पुर्‍याउन सरकारले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाएको छ।

तराईका ६ जिल्लाको करिब सवा लाख हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण अघि बढाइएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न भए पनि ड्याम (हेडवर्क्स) बनाउन ढिलाइ भएको छ। सुनकोसी गाउँपालिका वडा नम्बर ७ को कानढुंग्री भन्ने स्थानमा ड्याम (बाँध) निर्माण गरी सुरुङमार्फत् प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ। निर्माण कम्पनीको लापरबाहीले ड्याम निर्माण प्रगति अपेक्षित छैन।

अहिले ड्याम निर्माण प्रगति करिब ६० प्रतिशत हुनुपर्नेमा १० प्रतिशत मात्र भएको आयोजना प्रमुख गणेश मरासिनीले बताए। ‘सुरुङमा पानी लैजान तयार गरिने बाँध बनाउने काम बल्ल १०/११ प्रतिशत मात्र भएको छ,’ उनले भने, ‘निर्माणमा ढिलाइ हुँदा आयोजना प्रभावित हुने देखिएको छ।’

निर्माण कम्पनी पटेल–रमण जेभीले ड्याम निर्माणमा आलटाल गरेपछि आयोजनाले सम्झौता तोड्ने विषयमा समेत छलफल अघि बढाएको छ। ‘लक्ष्य अनुसार प्रगति निकै न्यून छ,’ मरासिनीले भने, ‘सम्झौतालाई तोड्ने कि निरन्तरता दिने भन्ने विषयमा विभागसँग छलफल भइरहेको छ।’

अझै दुईतीन महिना निर्माण कम्पनीको काम हेरेर निर्णयमा पुग्ने हिसाबले छलफल भएको उनले बताए।

आयोजनाको कुल अनुमानित लागत करिब ५० अर्ब रुपैयाँ छ । ड्यामसहितका पूर्वाधार निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपैयाँमा पटेल–रमण जेभीसँग सम्झौता भएको थियो। जेभीसँग ठेक्का सम्झौता भए पनि हाल निर्माणस्थलमा रमण कन्स्ट्रक्सनले मात्रै काम गरिहेको छ।

आयोजनाअन्तर्गत सुनकोसीको पानीलाई १३ किलोमिटरको सुरुङमार्फत लगेर कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ। उक्त पानीबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य राखिएको छ।

चार वर्ष सात महिनामा सक्ने लक्ष्यसहित आयोजना निर्माण थालिएको हो। आयोजनाको बाँध निर्माण प्रगति निकै सुस्त देखिएको छ। निर्माणको जिम्मा पाएको पटेल–रमण जेभीले विभिन्न बहाना बनाएर आलटाल गर्दै आएको छ। सुनकोसी नदीमा बाँध निर्माण गर्न २०७९ सालमा ठेक्का सम्झौता भएको थियो। सम्झौतामा २०८४ साल साउनमा निर्माण सम्पन्न गर्ने उल्लेख छ।

निर्माण सम्पन्न गर्नुपर्ने समय अब करिब २२ महिना बाँकी छ। गत वर्षको असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा काममा ढिलाइ भएको रमण कन्स्ट्रक्सनका प्रमुख रमण महतोले बताउँदै आएका छन्। यो वर्षको वर्षाले पनि ड्याममा केही असर पुगेको छ।

आयोजना अन्तर्गत सुनकोसी नदीमा करिब ३० मिटर अग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण गर्ने योजना छ। बाँधमा जम्मा भएको पानी सुरुङमार्फत मरिणखोलामा लगेर खसालिनेछ। त्यसका लागि १३.३ किलोमिटर लम्बाइको सुरुङ निर्माण गरिएको छ।

बाध निर्माणको जिम्मा लिएको रमण कन्स्ट्रक्सनले भने बाढीका कारण ठुलो क्षति भएकाले प्रगति गर्न नसकिएको जनाएको छ। रमण कन्स्ट्रक्सनका प्रमुख महतोले मोबिलाइजेसन रकमसमेत आयोजनाले तानेकाले काम अगाडि बढाउन समस्या भएको बताउँदै आएका छन्।

आयोजनाअन्तर्गत पहिलो चरणमा करिब १३ किलोमिटरको सुरुङ निर्माण भइसकेको भए पनि बाँध निर्माणमा ढिलासुस्ती देखिएको छ। यो आयोजनाबाट सिँचाइ सुविधा उपलब्ध गराउने मात्र नभएर ३१.७ मेगावाट विद्युतसमेत निकाल्ने योजना छ। सुरुङमार्फत ६६.२९ मिटर हेडबाट पानी झारेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

दोस्रो चरणको कामअन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेकलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने छ। तेस्रो चरणअन्तर्गत विद्युत् उत्पादन  संरचना बनाउनु पर्नेछ। चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ।

समयअगावै टनेल निर्माण

आयोजनाअन्तर्गत सुरुङ निर्माण २०८१ वैशाखमा सम्पन्न भएको हो । सुरुङ १३ दशमलव तीन किलोमिटर लामो छ। सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ। सुरुङ निर्माणको अवधि दुई वर्ष भए पनि १९ महिनामै सकिएको हो।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो। भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी–मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । यो मेसिन प्रयोग गरिएकाले सुरुङ निर्माण छिटो भएको हो। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार