 
						काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको १५औँ महाधिवेशनबारेको बहस पेचिलो बन्दै गएको छ । पार्टीको संस्थापन पक्ष आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । बुधबार ललितपुरमा बसेको संस्थापन पक्षको भेलाले प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने निष्कर्ष निकालेको छ । संस्थापन पक्षका नेताहरूले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहेको बेला दुई महामन्त्रीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलनको अगुवाइ गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर समूह भने मंसिरभित्रै नियमित या विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वयको सल्लाहमा पार्टीको १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसमेत बुझाएका छन् । पार्टीका औपचारिक तथा अनौपचारिक बैठकमा महामन्त्री गगन थापा स्वयंले वर्तमान समितिको अवधि नथप्ने पटक-पटक भन्दै आउनुभएको छ । महाधिवेशनका विषयमा बहस पेचिलो भन्दै जाँदा बिहीबारदेखि केन्द्रीय समिति बैठक पुनः सुरु भएको छ । बिहीबारको बैठकमा पनि महाधिवेशनको विषयमा संस्थापन र इतर समूहबीच स्पष्ट कित्ताकाट देखिएको छ । दुई हप्ता स्थगित भएर सुरु भएको केन्द्रीय समिति बैठकमा बिहीबार चुनावअघि नै महाधिवेशन कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न उठेको छ ।
बैठकको सुरुवातमा बागमती प्रदेश सभापति एवं केन्द्रीय सदस्य इन्द्र बानियाँले सदस्यता टुंग्याएर माघसम्म कसरी महाधिवेशन हुन्छ ? भन्ने प्रश्न उठाउँदै भन्नुभयो, ‘अधिवेशन पुस र माघमा सम्भव छ ? विशेष महाधिवेशनको कुरा पनि आयो । यस्तोमा अब विन-विन गरेर जानुपर्छ । सदस्यता छानविन समिति बनाउने, विधान संशोधन समिति बनाउनुपर्ने हुन्छ । यस्तोमा यी कुरामा अलमलिने कि एकढिक्का भएर कांग्रेस बनाउन लाग्ने ? विशेष निर्णय गरेर एउटा टुंगोमा पुगौँ ।’ बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापाको सचिवालयसहित दैनिक खर्चको आर्थिक स्रोत के हो ? भन्दै प्रश्न उठाउनुभएको छ । बैठकमा सहभागीहरूले क्रियाशील सदस्यताको टुंगो लगाउने मूल जिम्मेवारी लिएका महामन्त्री थापाले आफ्नो कार्य नसक्ने तर महाधिवेशनको रटान लगाएको आरोप लगाएका थिए । क्रियाशील सदस्यताको टुंगो नलागेको हुँदा नियमित महाधिवेशन चुनावअघि हुनै नसक्ने नेताहरूको जोड थियो । संस्थापन पक्षका एक नेताले भने, ‘नियमित महाधिवेशन चुनावपछि गर्ने धेरैको विचार छ । विशेष महाधिवेशन हुनै नसक्ने र त्यसले पार्टी विभाजन गर्ने दृष्टिकोण आएका छन् ।’
महामन्त्री थापा र विश्वप्रकाश शर्माले जारी बैठकमा नियमितको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । तर, २१ फागुनको निर्वाचनपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहँदै आएको नेपाली कांग्रेसको संस्थापन पक्ष यसैमा अडिग रहने रणनीतिमा छ । केन्द्रीय सदस्य गुरु बरालले नियमित अधिवेशनमा जानुको विकल्प नभएको जिकिर गर्दै भन्नुभयो, ‘नियमित अधिवेशन जानुपर्छ, नीतिहरूसहित आउनुपर्छ, निर्वाचनलाई पनि उपयोग गरेर जानुपर्छ ।’ गत २८ असोजबाट सुरु भएको बैठकमा ३० असोजबाट एजेण्डासहित छलफल सुरु भएको थियो । विभिन्न १० वटा एजेण्डासहित छलफल सुरु भएको बैठक दुई दिनसम्म चलेको थियो । बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
विश्वप्रकाशले सुझाए चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प
महामन्त्री शर्माले चुनावअघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गर्नुभएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्कमार्फत महामन्त्री शर्माले चार विकल्पहरू सुनाउनुभएको हो । शर्माले २७ देखि २९ मंसिरसम्म १५औँ महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सार्नुभएको छ । कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले पेस गरेको कार्यतालिकाअनुसार नियमित महाधिवेशन गर्ने प्रस्तावलाई पारित गर्नुपर्ने पहिलो विकल्प राख्नुभएको छ । शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर गरिएको अवस्थामा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने दोस्रो विकल्प देखाउनुभएको छ । महामन्त्री शर्माले विधानको सोही धारामा रहेको व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने तेस्रो विकल्पमा रहेको उल्लेख गर्नुभएको छ । यो विकल्पमा पनि सहमति नभए १५औँ महाधिवेशनका लागि पुस १६ देखि १९ गतेसम्म गर्न सकिने चौथो विकल्प अघि सार्नुभएको छ । संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५औँ महाधिवेशन गर्न सकिने शर्माको प्रस्ताव छ ।
महाधिवेशनबारे परिपक्व निर्णय गरौँ : प्रदेश सभापति बानियाँ
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका बानियाँले महाधिवेशनबारे अपरिपक्व निर्णय गर्दा पार्टीलाई क्षति पुग्ने तर्क गर्दै भन्नुभयो, ‘महाधिवेशन गर्ने मितिबारे निर्णय गर्दै जाने र पछि त्यसलाई कार्यान्वयनको वातावरण नबनाई अर्को निर्णय गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ । निर्णय गर्दा केन्द्रीय समितिले विशेष मनन गरेर निर्णय गर्नुपर्दछ ।’ प्रदेश सभापति बानियाँले आगामी मंसिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको जिकिरसमेत गर्नुभएको छ ।
विशेष महाधिवेशनको माग पार्टी फुटाउन होइन : प्रदेश सभापति पुन
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशन माग गर्नेहरूको उद्देश्य पार्टी फुटाउने नरहेको बताउनुभएको छ । बिहीबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै पुनले भन्नुभयो, ‘विशेष माग गरेकै आधारमा पार्टी फुट्ने र अरूले पार्टी जुटाउने हुँदैन । विधानको आ–आफ्नो व्याख्या गर्ने अधिकार छैन । विधानको व्यवस्था जे हो त्यही गरौँ । पार्टीलाई एकताबद्ध बनाएर मात्रै निर्वाचनमा जानुपर्छ ।’
सभापति देउवाको स्वास्थ्यलाभ नगरेको भन्दै आपत्ति
केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले ‘जेन-जी’ आन्दोलनका क्रममा आक्रमणमा परेका सभापतिको स्वास्थ्य लाभको कामनासमेत नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा ‘जेन–जी’ आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको बैठकबाट सभापति शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना नगरिएको विषयप्रति आपत्ति जनाउँदै तिमिल्सिनाले भन्नुभयो, ‘कार्यसम्पादन समितिको बैठक बस्नुभयो । तर, सभापतिलाई स्वास्थ लाभको कामनासमेत गर्नुभएन । हाम्रो भ्रातृ संघ, शुभेच्छुक संघ धेरै छन् । तर, हाम्रो सभापति र हाम्रो नेताको संरक्षण गर्न सकेनन् । देश २४ घण्टामा जलेको छ । हाम्रो सभापति र केन्द्रीय सदस्यलाई कुटेका छन् । यस्तो अवस्थामा कसरी यो घटना भयो ? भनेर खोजतलास गर्नु त परको कुरा विशेष अधिवेशन गरौँ भनेर लाग्नु राम्रो होइन ।’
नियमित महाधिवेशनको मिति तोकेर जाऔँ : केन्द्रीय सदस्य खतिवडा
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जारी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा नियमित महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्ने क्रममा खतिवडाले भन्नुभयो, ‘चुनावमा जाने कि संसद् पुनःस्थापनामा बटमलाइन क्लियर हुनुप¥यो । सर्वसम्मत रूपमा नियमित महाधिवेशनको समय तोकेर अगाडि जानुपर्यो । होइन, चुनावमा जाने हो भने चुनावपछि महाधिवेशन गर्नुपर्यो ।’ बिहीबारको बैठकमा १५ जना सदस्यले धारणा राखेका थिए । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बिहीबारको बैठकमा धारणा राख्नेहरूले नियमित महाधिवेशनमै जानुपर्ने र निर्वाचनअघि महाधिवेशन सम्भव नहुनेमा जोड दिएको जानकारी दिनुभएको छ । बैठक आज दिउँसो १ बजे पुनः बस्नेछ । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया