 
						काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने तयारीले एकीकृत समाजवादीमा गम्भीर विवाद निम्त्याएको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको अन्तिम तयारी गरिरहेका बेला पार्टीभित्र चर्को मतभेद देखिएको हो । एक पक्ष माओवादीसँग एकता गरेर नयाँ पार्टीमा जाने तयारीमा छ भने अर्को पक्षले एसलाई निरन्तरता दिँदै नयाँ नेतृत्वको विकल्प खोज्ने तयारी गरेको छ । यसले एकीकृत समाजवादीको आन्तरिक राजनीतिमा किचलो बढ्न थालेको हो ।
अध्यक्ष नेपाल र नेता वेदुराम भुसालसहित माओवादीसँग एकता गर्ने पक्षमा उभिए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री लगायतको समूह भने त्यसको विरोधमा उत्रिएको छ । माओवादीसँगको एकताभन्दा पार्टी पुनर्गठन गर्नुपर्ने उनीहरूको जोड छ । जारी केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालले नेतृत्व छाडे मात्रै एकताको वातावरण बन्ने बताउनुभयो । ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता’, बैठकमा भुसालले भन्नुभयो, ‘नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’
त्यस्तै, नेता खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गर्नुभयो । उहाँले एमाले विभाजनकै औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्न खोजेको भन्दै अध्यक्ष नेपालको राजीनामासमेत माग्नुभयो । ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जान सुहाउँछ ? यो एकताको समय होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने समय हो’, खनालले भन्नुभयो । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडा भने एकताको पक्षमा देखिनुभएको छ । पाण्डेले पार्टी चलाउन कठिन भइरहेको उल्लेख गर्दै अब नचल्ने पार्टीलाई अर्कोलाई बुझाउनैपर्ने अवस्था आएको उहाँको भनाइ छ । नेतृ झाँक्रीले यसअघि नै अध्यक्ष नेपाललाई जिम्मेवारीबाट हट्न चेतावनी दिँदै सिनोलाई बोकेर हिँड्न नसक्ने टिप्पणी गर्नुभएको थियो ।
नेता प्रमेश हमालका अनुसार माओवादीसँग एकताको सहमति अन्तिम चरणमा पुगेको छ । सिद्धान्त, संगठन र नेतृत्वबारे सहमति बनिसकेको र एकता भएपछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ रहने प्रस्ताव गरिएको छ । एमालेसँग विद्रोह गरेर २०७८ सालमा एकीकृत समाजवादी गठन भएको थियो ।
प्रचण्ड र माधवले नेतृत्व छाड्ने भए मात्रै एकताको वातावरण बनाउन सकिन्छ : भुसाल
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रचण्ड र माधव नेपाललाई जनताले अस्वीकार गरेकाले फरक भूमिकामा जान सुझाव दिनुभएको छ । जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन अध्यक्ष नेपालको प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले फरक भूमिकामा रहन सुझाव दिनुभएको हो । पार्टी एकता गर्दा नेता बलियो हुनेगरी नभई जनता बलियो बनाउने गरी हुनुपर्नेमा भुसालले जोड दिनुभयो । ‘माधवजी, प्रचण्डजी फरक भूमिकामा जानुस् । ‘तपाईंहरूले (प्रचण्ड र माधव नेपाल)ले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । कार्यकर्ताले त मानेका हौँ । तपाईंहरूको लामो कार्यकारी भूमिका जनताले मानेनन्’, भुसालले भन्नुभयो, ‘हामी कोही तपाईंहरूभन्दा अब जुनियर होइनौँ । हामीले प्रस्ताव गरेको जनवादी क्रान्ति सकियो, अब समाजवादी क्रान्तिको युग सुरु भयो भन्ने विचार हामीले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको कुरा बृहत्तर स्वीकारोक्ति छ ।’ पार्टी पुनर्गठन गरेर बृहत् वाम एकताको ढोका खोल्न सकिने उहाँको भनाइ छ ।
यो एकीकरणको होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालको राजीनामा माग्नुभएको छ । जारी केन्द्रीय समिति बैठकमा माओवादसँगको एकताबारे धारणा राख्दै उहाँले नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिनुभएको हो । ‘त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । तसर्थ उहाँले अध्यक्षबाट राजीनामा दिनुपर्छ,’ खनालले भन्नुभयो । उहाँले अध्यक्ष नेपाललाई एकीकृत समाजवादी फुटाएर माओवादीमा जान सुहाउँछ ? भनेर प्रश्न गर्नुभयो । अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको उहाँको भनाइ थियो । ‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस् । होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो,’ उहाँले भन्नुभयो, ‘उनीहरूभित्रै राजनीतिक, सैद्धान्तिक मतभेद छ । त्यो नमिलाई पार्टी चलाउन पनि सकिएन, पैसा पनि छैन, कार्यालय पनि तोडफोड भयो भनेर जान खोजेको हो भने भन्नु केही छैन । एमालेसँग विद्रोह गर्दा हामीले चार वर्षसम्म माधव कमरेडलाई साथ दिएको हो, अब अहिले माधव कमरेडले छाडेर जान सुहाउँछ ? यो पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ?’
सिद्धान्त, संगठन र नेतृत्वबारे सहमतिमा पुगेका छौँ : हमाल
एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनर्गठन गर्ने सहमति जुटेको बताउनुभयो । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता प्रक्रियाबारे जानकारी दिने क्रममा उहाँले पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको जानकारी दिनुभयो । सम्मानजनक संगठनात्मक एकता हुने दोस्रो सहमति रहेको हमालले बताउनुभयो । तेस्रो सहमति भने नेतृत्वबारे भएको उहाँको भनाइ छ । ‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौँ’, हमालले बैठकमा भन्नुभयो, ‘६ महिनाभित्र नेतृत्व पुनर्गठन वा पुनर्निर्माण गर्ने भन्ने छ । एउटा प्रक्रियाबाट नेतृत्व परिवर्तन हुन्छ ।’
पार्टी चलाउन सकिएको छैन, नसकेपछि अर्कोलाई बुझाउनैपर्छ : पाण्डे
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधान संशोधनको विषयलाई समेत ध्यानमा राखेर पार्टी एकता गर्नुपर्ने धारणा राख्नुभयो । पार्टी चलाउन नसकिएको अवस्थामा अर्कोलाई बुझाउनुको विकल्प नहुने उहाँको भनाइ छ । ‘त्यतिकै गरिने एकताले परिणाम ल्याउँदैन, त्यो थाहा छ तर अब आफ्नो पार्टी पनि नचलाउने, एकता पनि नगर्ने भनेर कहाँ पुगिन्छ र ?’, पाण्डेले भन्नुभयो, ‘यसै पनि हाम्रो पार्टी सकिन लागेको छ । पार्टी चलाउन सकिएको छैन । चलाउन नसकेपछि अर्कोलाई बुझाउनैपर्छ ।’ उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकता अहिलेको आवश्यकता भन्दै एकताबाट पछि हट्न नहुने धारणा राख्नुभयो । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया