बाँके । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका नाममा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ।
शुक्रबार नेपालगञ्जस्थित नेकपा (एमाले) बाँके कार्यालयमा पार्टीका अगुवा कार्यकर्तासँगको छलफलका क्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनको नाममा व्यक्तिगत घर, सरकारी तथा सार्वजनिक संस्थाका भवनमा आगजनी, लुटपाट र तोडफोड गर्ने कार्यलाई कुनै हालतमा माफ गर्न नहुने बताउनुभयो।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कँडेलले देशको संविधान र सार्वभौमिकताको रक्षा अहिलेको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीका सबै तहका कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि भएको क्षतिको छानबिनका लागि गठित आयोगलाई एमाले बाँकेले जिम्मेवार कदम चाल्न आग्रह गरेको छ। आयोगका सदस्य विज्ञानराज शर्माले शुक्रबार क्षतिग्रस्त एमाले बाँके जिल्ला पार्टी कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया