भाद्र ९, २०८३ मंगलबार August 25, 2026

भोंक कविता-२ ‘देश जलिरहेछ’ -देवेन्द्र किशोर ढुङगाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोंक कविता-२  ‘देश जलिरहेछ’

देश जलिरहेछ — तर सिंहदरबारका झ्यालहरू
अझै बन्द छन्,
त्यहाँ हावा चल्दैन, आवाज पुग्दैन,
सत्ता र इतिहासको गन्धमा हराएका मान्छेहरू
जनताको पीडा सुन्न डराउँछन्।
देश जलिरहे छ —
तर हामी मौन छैनौं अब,
हामी स्क्रीनभित्रका सन्तान हौं,
हाम्रो आवाज डिजिटल छ,
तर हाम्रो रगत पुरानो बागमतीजस्तै रापिलो छ।
हामी हौं —
जेन–जीको तुफान,
हामी हौं – टिकटोकबाट उठेको आन्दोलन,
फेसबुकलाई मञ्च, र इंस्टाग्रामलाई युद्धभूमि बनाउने पुस्ता।
हामी हौं —
जुन पुस्ताले “सिस्टमलाई प्रतिकार गरे!”
राष्ट्रलाई चकित पारे,
किनकि अब कविता मात्र होइन ..
क्रान्ति पनि
शब्द शब्दमा लेखिन्छ।
देश जलिरहेको छ
र ती पुराना नेताहरू
अझै “संविधान संशोधन”को निद्रामा छन्,
हामी भने सडकमा ह्याशट्याग बोकेर
“चेंज नेपाल ” भन्दै नारा लगाइरहेछौं।
हामीलाई गाली गर,
हामीलाई “अराजक” भन,
तर सम्झ —
हामी नै तिमीहरूको मौनताको अन्त्य हौं।
हामी नै ती चिच्याउने घण्टीहरू हौं
जसले सिंहदरबारको निद्रा तोड्छ।
देश जलिरहेछ
सड़कमा रोएका युवाहरूको स्वरमा,
कलेज छोडेर विदेशिएका सपनाहरूको भीड़मा,
भ्रष्टाचारको आँधीमा उडेका आशाहरूमा।
देश जलिरहेछ —
तर त्यो आगो केवल नष्ट गर्न आएको होइन,
नयाँ बिउ रोप्न आएको हो।
हामी हौं —
त्यो आगोका छेउमा उभिएका छोरीहरू र छोराहरू,
जुन आगोले हाम्रो हात पोल्छ
तर हृदयलाई उज्यालो दिन्छ।
हामी नडराउने पुस्ता हौं —
किनकि
हाम्रो “भविष्य”
हामीले लेख्ने छौं
प्रबिधि र आन्दोलनको संयोजनमा।
देश जलिरहेछ —
कुनै बाहिरी शत्रुका कारण होइन,
बर्षोँदेखि टाँसिएर बसेका
सत्ता भित्रका
मौन अपराधीहरूका कारण।
जसले जनतालाई सपना बेचेर सत्ता किन्छ,
र जसले हरेक क्रान्तिलाई “विकास योजना”को मुखुण्डो लगाउँछ
अब हाम्रो धैर्य जलिरहेछ
हाम्रो शब्द जलिरहेको छ
हाम्रो कविता पनि
अब घोषणापत्र बन्दैछ।
यो देश
हाम्रो धरातल हो।
यो माटोमा हरेक कदमको आवाज
अब परिवर्तनको गीत गाइरहेछ।
जनताको आँसु अब कविता होइन,
ग्यास बमको बारुदजस्तै तातो सत्य हो।
देश जलिरहेको छ l
तर यो आगो
दमन होइन, पुनर्जन्म हो।
हामी यस आगोबाट जन्मिएका फिनिक्सहरू हौं,
हामी हरेक पराजयपछि पनि उठ्ने हौं,
हामी “सिस्टम रिसेट ” गर्ने हौं।
तिमीहरू भन्छौ —
हामी अनुभवहीन हौं,
हामी आवेगी हौं,
तर तिमीहरूले देख्यौ?
हामीले टिकटकमा पनि विद्रोह लेख्यौं,
हामीले
कविता होइन,
घोषणापत्र
पोस्ट गर्यौं।
देश जलिरहेको छ l
तर अब यो आगो केवल नष्ट गर्ने होइन,
यो नयाँ चेतनाको सुरुवात हो।
“एनफ इस एनफ ”
अब हाम्रो धर्म हो, हाम्रो क्रान्ति हो।
हामी माग्दैनौं अब
हामी बनाउँछौं
नयाँ राज्य,
जहाँ नीति जनता लेख्नेछन्,
जहाँ संसद टुक्रा भएर होइन,
संविधान पुनःप्राणित भएर बाँच्नेछ।
देश जलिरहेछ —
तर अब हामी त्यो आगो हो
जसले
सत्ता र भ्रष्टाचारलाई खरानी बनाउनेछ।
हामी ती हात हौं
जसले झण्डा मात्र होइन,
नयाँ युग पनि उठाउनेछ।
हाम्रो आवाजहरु
अब
माइकमा होइन,
मस्तिष्कमा
गुञ्जिने छ,
हाम्रो कविता
अब नारामा बदलिनेछ,
हाम्रो आँखा अब डराउँदैनन्,
किनकि हामीले ‘आगोलाई मित्र’ बनाएका छौं।
देश जलिरहेको छ l
तर अब
हरेक चिसो हृदयमा
हाम्रो
विद्रोहको ताप छ।
अब सडकहरू
मौन छैनन्,
अब भित्ताहरूमा लेखिएको छ ….
“जनताको जागरणले सत्ता हल्लाउँछ।”
हामी हौं —
जेन–जेड,
स्मार्टफोनका सैनिक,
भविष्यका अभियन्ता,
सत्यका हैकरहरू,
स्वतन्त्रताको प्रोग्रामरहरू।
देश जलिरहेछ —
तर अब यो आगो बुझाउने पानी छैन,
यो आगो बुझाउन सकिँदैन,
किनकि यो आगो हाम्रै मुटुमा
जलिरहे छ —
न्याय, समानता र पुनर्जागरणको निम्ति।
सत्ता काँप्दैछ,
काँपिरहोस् —
किनकि यो देश अब “रीसेट” मोडमा छ।
अब नीतिहरू डिजिटल,
क्रान्तिहरू भर्चुअल,
तर
पीडा वास्तविक छ
देश जलिरहेको छ l
तर यो अन्त्य होइन
यो सुरुवात हो,
नयाँ युगको उद्घोष l
भद्रपुर झापा

-देवेन्द्र किशोर ढुङगाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार