श्रावण ३, २०८३ आइतबार July 19, 2026

‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ साउनः साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफलसहित कविगोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्लेषण गर्दै यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुन नसक्ने भएकाले रोजगारीका लागि विदेशी भूमिमा जीवन घोटिरहेका नेपालीहरू आयआर्जनकै लागि पसिना बगाइरहेका विषय साहित्यमा आउनुपर्ने बताउनुभयो ।

“अहिले आर्थिक रूपमा जनताको जीवनस्तर दिनहुँ कष्टकर हुने सङ्केत देखिएको छ । तत्काल रोजगारी सृजना भइहाल्ने अवस्था पनि देखिएको छैन । साहित्यिक क्षेत्र पनि यो आर्थिक चपेटाबाट मुक्त हुने अवस्था देखिएको छैन”, अर्थविद् डा क्षेत्रीले भन्नुभयो, “वर्तमान एआईजस्ता प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसार, बजारीकरण, समूहीकृत गर्ने कुरामा सहयोग गर्ने अवस्थाचाहिँ रहेको छ र त्यसको सदुपयोग गरिनु आवश्यक छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले साहित्यकार सुमी लोहनीद्वारा संस्कृतको भागवतबाट अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथै वाचित रचनाको टिप्पणी गर्नुभयो । उहाँले समाजका कुरूप पक्षमाथि प्रहार गर्दै रूपान्तरणको सन्देश दिन सकिए मात्रै सृजना उत्कृष्ट हुने बताउनुभयो ।

सो अवसरमा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, डा रूपनारयण श्रेष्ठ, महेशराज खरेल, राजन आचार्य, लक्ष्मण तिमल्सिना, चेवन बस्नेत, पोष चापागाईँ, कृष्ण बाउसे, शान्ता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, कुमार नेपाल, डा मनोज जोशी, माधव प्रधान, नवराज श्रेष्ठ, डा गोविन्दप्रसाद आचार्य, जमुना आचार्य, शिवप्रसाद आचार्य, दिनेशराज खरेल, वैरागी जेठा, लीलाराज दाहाल, बलराम विष्ट, केदारनाथ आचार्य, एमपी पाण्डे र प्रमोद भण्डारीले रचना वाचन गर्नुभएको थियो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आवाज उठाउने वा बहसको थालनी गर्ने कार्यमा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया