कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ख्वप (भक्तपुर), ६ कात्तिक । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमले रौनक थएिको छ ।

‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको सो सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सञ्चालन भइरहेको छ ।

सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले आज बिहान उद्घाटन गर्नुभएको सो सम्मेलन राति ११ः०० बजेसम्म चल्नेछ ।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनाका साथै नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ ।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पुर्याउँदै आएको छ ।

चार दशकभन्दा लामो इतिहास बोकेको सो सम्मेलनबाट साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनका क्रममा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिने छ ।

प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ ।

सो सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया