कार्तिक २९, २०८३ आइतबार November 15, 2026

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, कात्तिक १५ गते। भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्।

मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताउनुभयो।

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिनुभयो। चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उहाँको भनाइ छ।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित हुनुभएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिनुभयो।

आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको उहाँले बताउनुभयो।

चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो। मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको उहाँले बताउनुभयो।

मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उहाँले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गर्नुभयो। नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिनुभयो।

नगरप्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरभित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, यो मन्दिरको प्रचारप्रसार गरी विश्वभर यसको महत्त्व र महिमा पुर्‍याउन नगरपालिका लागिरहेको छ। त्यसका लागि पनि नगरकोट भ्रमण वर्षको आयोजना गरेका हाँै, भ्रमण वर्षभरि चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ।”

नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र नगरकोट भ्रमण वर्ष सचिवालयको टोलीसमेत परिचालन गरेको सचिवालयकी सदस्य एवं चाँगुनारायण नगरपालिका पर्यटन शाखाकी मीरा तिमिल्सिनाले जानकारी दिनुभयो।

उहाँले मन्दिरमा स्वास्थ्य शिविर सञ्चालन, लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज र शीघ्र दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ बजेदेखि नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको जानकारी दिनुभयो।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गरेका चाँगुनारायण मन्दिर व्यवस्थापन समितिका सदस्य दिनेश थापाले जानकारी दिनुभयो। उहाँले बिहानदेखि परेको अविरल वर्षामा पनि दर्शनार्थीको घुइँचो लागेको बताउनुभयो।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार