पुष २३, २०८२ बुधबार January 7, 2026

जेन–जी आन्दोलनको अवमूल्यन नगरौं : डा. टीकाराम पोखरेल

वर्षौंदेखि सत्ता र शक्तिको चास्नीमा डुबेर बसेकाहरू जेन—जी आन्दोलनपछि सत्ताविमुख भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजनीतिक रूपमा देश परिवर्तन उन्मुख छ। भदौ २३–२४ को जेन—जी पुस्ताको आन्दोलनले अकल्पनीय रूपमा देशको राजनीतिलाई परिवर्तन गरिदियो। जम्माजम्मी २८ घण्टाको अवधिमा यो तहको राजनीतिक परिवर्तन हुने कुराको आकलन आन्दोलन आह्वानकर्ता जेन—जीहरूले समेत गरेका थिएनन्। जेन—जीको आन्दोलनप्रति पूरै बेवास्ता गर्दै निदाएर बसेको तत्कालीन सरकारलाई त यो परिवर्तनको आकलन हुने कुरै भएन।

२८ घण्टे जेन—जी आन्दोलनलाई आआफ्नो बुझाइ र क्षमताअनुसार कसैले राजनीतिक दलप्रतिको आक्रोश भन्लान्, कसैले विद्रोह भन्लान्, कसैले आन्दोलन वा कसैले क्रान्ति नै भन्लान्। जे नामकरण गरे पनि यो यथास्थितिप्रति नवपुस्ताले गरेको विद्रोह हो। सामाजिक सञ्जाल बन्दको विरोध, सुशासनकोे सुनिश्चितता र भ्रष्टाचारको अन्त्य भनेर आह्वान गरिएको यो आन्दोलन परम्परागत रूपमा जरा गाडेर बसेको र पछिल्लो समय अझ फस्टाएको कुशासन, भष्टाचार, दलीयकरण, नातावाद र कृपावादप्रतिको तीव्र असन्तुष्टि हो। यस्ता प्रवृत्तिविरुद्ध चेतनाको बिगुल फुकिएको हो।

ग्रान्ड डिजाइनको दुष्प्रचार : वर्षौंदेखि सत्ता र शक्तिको चास्नीमा डुबेर बसेकाहरू जेन—जी आन्दोलनपछि सत्ताविमुख भए। जुन आन्दोलनले आफूलाई सत्ताविमुख गरायो, त्यो आन्दोलनप्रति तत्कालीन सत्ताधारी त्यति धेरै सकारात्मक नदेखिनु स्वाभाविकै हो, त्यसैले उनीहरू जेन—जी विद्रोहमा ग्रान्डडिजाइन (महाषड्यन्त्र) देख्छन्। वैदेशिक हस्तक्षेप, अरूद्वारा परिचालित, देश टुक्र्याउने खेल, लोकतन्त्रमाथिको प्रहारजस्ता अनेक उपमा आन्दोलनलाई भिराइरहेका छन्। तर यस्ता उपमाहरूले तत्कालीन शासकहरूको आफ्नो कमजोरी ढाकछोप हुँदैन।

स्मरण रहोस्, आजको प्रतिस्पर्धी युगमा कसैलाई पनि अरूलाई सकाउन ग्रान्ड डिजाइन गर्ने फुर्सद छैन। तर जेन—जी आन्दोलनमा धमिलो पानीमा माछा मार्ने काम चाहिँ भएकै हो। घरको ढोका खुला देखेपछि सुटुक्क घरभित्र घुसेर चोर्ने काम गरेकै हो। झोसिएको आगोमा घिउ थपेकै हो। अरूले धमिलो पानीमा माछा मार्छ भन्ने थाहा हुँदाहुँदै पानी धमिल्याउने, चोरले चोर्छ भन्ने थाहा हुँदाहुँदै ढोका खुला राख्ने र आफूले आगो लगाएपछि अरुले घिउ थप्छ भन्ने थाहा हुँदाहुँदै किन त्यस्तो कर्म गरेको ? त्यसैले आन्दोलनको धमिलो पानीमा माछा मार्ने, घरमा चोर्ने र आगोमा घिउ थप्नेभन्दा बढी पानी धमिल्याउने, घरको ढोका खुला राख्ने र सुरुमा आगो झोस्ने बढी जिम्मेवार छन्।

वैदेशिक हस्तक्षेपको प्रश्न  :  नेपालमा भएका २००७ सालदेखि अहिलेसम्मका राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा विदेशी मुलुकहरूको चासो रहने गरेको छ। विश्वव्यापीकरणको युगमा एक देशको राजनीतिक परिवर्तनमा अर्को देशको चासोलाई सामान्य रूपमा लिने गरिन्छ। तर देशमा भएका आन्दोलन र परिवर्तनका संवाहकहरूलाई नै अवमूल्यन गर्ने गरी कुनै अमुक वैदेशिक शक्तिको आडमा यो परिवर्तन भयो भन्नु चाहिँ आफ्नो शक्तिलाई आफैं अवमूल्यन गर्नु हो।

आज हरेक देशलाई आफ्नै आन्तरिक मामिला र समस्या टाउको दुखाइ भएको अवस्थामा सम्पूर्ण विश्वशक्ति नै नेपालमाथि षड्यन्त्र गर्नमै केन्द्रित छ र त्यही शक्तिले यो परिवर्तन गरायो भन्ने कुरा भनेको चिया पसलको गफबाहेक केही होइन। भूराजनीतिक कारणले छिमेकी मित्रराष्ट्रहरूले नेपालको सत्ता परिवर्तनलाई अलि बढी नजिकबाट चासोका साथ हेरिने कुरालाई चाहिँ अन्यथा भनिहाल्नु पर्दैन।

लोकतन्त्रमाथिको प्रहारको सवाल  :  जेन—जी पुस्ताले आन्दोलन सुरु गरेदेखि अहिलेसम्म विभिन्न ढंगले मागहरू उठाइएका छन्। सुरुमा सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्चालको विषयबाट अगाडि भएको भए तापनि अहिले आएर शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता खारेजीको विषयसम्म जेन—जीका केही समूहले उठाएका छन्। कतिपयले जेन—जीले उठाएका सवाललाई लोकतन्त्रमाथिको प्रहारको रूपमा समेत व्याख्या गरेको पाइन्छ।

स्मरणीय कुरा के छ भने शासकीय स्वरूप र लोकतन्त्र फरक विषय हुन्। लोकतन्त्रभित्र विभिन्न शासकीय स्वरूप हुन सक्छन्। लोकतन्त्रबाट अझ उन्नत प्रकारको लोकतन्त्रमा जानका लागि शासकीय स्वरूपमा परिवर्तन गर्न सकिन्छ, तर पछाडि फर्किएर होइन, अझ अगाडि जाने हो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको कुरामा कसैको विमति रहनु हुँदैन। जेन—जी पुस्ताको माग लोकतन्त्र र वर्तमान संविधानमा टेकेरै अगाडि बढ्ने भएकोले लोकतन्त्रमाथिको प्रहारको रूपमा जेन—जी पुस्ताको मागलार्ई बुझिनु हुँदैन। यस्तो अपव्याख्या गरियो भने राजनीति निकासतिर होइन, बरु झन अन्यौलतिर जान्छ।

घुसपैठ भएकै हो  :  जेन—जी आन्दोलन कोही अमुक शक्तिको ग्रान्ड डिजाइनमा भएको होइन भन्ने कुरा जति घामजत्तिकै छर्लंग छ, आन्दोलनभित्र घुसपैठ भएको कुरा पनि घामजत्तिकै छर्लंगै छ। दुईदिने जेन—जी आन्दोलनको सबैभन्दा नकारात्मक पाटो भनेकै आन्दोलनभित्रको घुसपैठ र घुसपैठबाट भएको विध्वंश रह्यो। खासगरी भदौ २४ गतेको विध्वंसमा जेन—जीभन्दा बढी घुसपैठवाला हाबी भए। तर त्यसमा राज्यप्रतिको आक्रोश पनि थियो। तोडफोड र आगजनीमा कतिपयका व्यक्तिगत आक्रोश पनि मिसिए।

सार्वजनिक सम्पत्ति, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान र व्यक्तिका घरमाथि यसरी तोडफोड र आगजनी गरिए कि त्यस्तो कार्यमा संलग्नहरूलाई विधिको शासन भएको मुलुकमा क्षम्य हुनै सक्दैन। आन्दोलन र ध्वंसलाई फरक रूपमा हेर्न सकिएन भने यस्ता नियति भविष्यमा फेरि पनि दोहोरिन सक्छन्।

फेरि पनि आफ्नै बाँसुरी  :  प्राय :  शासकहरूले आफ्नै धुनमा बाँसुरी बजाउँछन् र मस्त रमाउँछन्। स्वाभाविक नै हो हरेकले आफ्नो बाँसुरी बजाउँछ। बजाउने छुट पनि छ। तर आफूले बजाएको बाँसुरीको धुन जनताका लागि कति प्रिय छ भन्ने कुरा राजनीतिक दलहरूले बुझ्न सक्नुपर्छ। देशले परिवर्तन खोजेको अवस्थामा परपम्परागत धुन बजाएर बस्नु भनेको खोलामा आएको बाढीलाई छेक्नु जस्तै हो। बाढीलाई थुनेर रोक्न खोजे आफैंलाई बगाउँछ। बाढीलाई सही तरिकाले बग्न दिए मात्र त्यसले कम क्षति गर्छ।

दलहरूले यो कुरा नबुझी पुरानै ढर्राको बाँसुरी बजाउने हो भने समयले पर्खिंदैन। लोकतन्त्रमा दलहरूलको विकल्प छैन। चुनावमा अपवादमा केही दलविहीन व्यक्ति वा समूह चुनिएर आउन सक्लान्, तर त्यस्ता केही व्यक्ति चुनिएकोलाई दलहरूको विकल्प मान्न सकिँदैन। दलको विकल्प छैन भन्दै दलहरूले आफ्ना कमी, कमजोरी स्वीकार र सुधार नगर्ने र आन्दोलनलाई नै औचित्यहीन भनेर व्याख्या गर्ने हो भने चाहिँ दलहरूले पछुताउनुपर्छ।
समयले कसैलाई पर्खिँदैन।

नेतृत्वको विकास होस्  :  त्यति ठूलो परिवर्तनको संवाहक जेन—जी पुस्ता नेतृत्वविहीन देखिन्छ। स्वतस्फूर्त रूपमा अगाडि बढेको आन्दोलन नेतृत्वविहीन हुनु स्वाभाविक थियो, तर सधैं नेतृत्वविहीन रहन सक्तैन। नेतृत्व आवश्यकताले जन्माउँछ। पछिल्लो समय जेन—जीका विभिन्न समूहहरूमा नेतृत्वको अभ्यास भइरहेको छ। यो सकारात्मक हो। सबै जेन—जीको नेतृत्व र एजेज्डा सामूहिक र सहमतिमा हुन सके जेन—जी आन्दोलन थप
बलियो हुने थियो।

अन्त्यमा, जेन—जी आन्दोलन नवजागरणको आन्दोलन हो। तर यो नवजागरणको परिणाम पचाउन नसक्नेहरूले यस आन्दोलनलाई अनेक उपमा दिँदै बदनाम गराउने प्रयास गरेर आफ्नो अकर्मण्यताको ढाकछोप गरिरहेका छन्। सफा देखिने समुद्रमा पनि केही अंश फोहोर भए झैं आन्दोलनका क्रममा केही अवाञ्छित क्रियाकलाप भए, तर त्यसको नाममा पूरा आन्दोलनलाई बदनाम गरिनु हुँदैन।

नेपालका विगतका आन्दोलनहरू हुन् वा विश्वमा भएका ठूला आन्दोलहरू नै किन नहुन्, तिनीहरूमा पनि केही नकारात्मक क्रियाकलाप पनि भएका छन्। नेपालको जेन—जी आन्दोलनमा पनि धेरै कुरा राम्रा हुँदाहुँदै आन्दोलनमा तोडफोड र विध्वंसको नकारात्मक पाटो पनि देखियो। तर विध्वंसकै मात्र हवाला दिएर सम्पूण जेन—जी आन्दोलनलाई बदनाम गराउनु हुँदैन। यसो गरियो भने समग्र जेन—जी आन्दोलनको अवमूल्यन हुन्छ। यसरी आन्दोलनको अवमूल्यनमा समय खेर फाल्नुभन्दा वर्तमान संक्रमणकालीन अवस्थाको सुरक्षित अवतरणका लागि सबैले आफ्नो आफ्नो स्थानबाट भूमिका खेल्नु पर्छ। अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया