पुष २३, २०८२ बुधबार January 7, 2026

ऐना होइन, कांग्रेसी अनुहार फेरौं – डा. शोभाकर पराजुली

चुनावअघि नै अनुहार फेरौं, सोंच फेरौं। संकल्प फेरौं। पहिला आफू ताजा बनौं अनि बल्ल ताजा जनमत माग्न सुहाउँछ, ऐना त हामीले धेरै पटक पुछिसक्यौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अरूले सक्ने, अरूका लागि समय हुने, नेतृत्वलाई गुटबन्दीका लागि समय हुने तर पार्टी रूपान्तरणलाई समय नपुग्ने ? यो त हुनै सक्दैन । १०४ वर्षे जहानियाँ राणाशासन भर्खरै ढलेको थियो । र, पनि राणाका अवशेषहरू दरबार, सरकार र राजनीतिको केन्द्रमा सल्बलाइरहेका थिए । त्यो २००७ सालपछिको नेपाली राजनीतिको परिदृश्य थियो । बीपी, सुवर्ण शमशेर अनि गणेशमान सिंहहरूले लडेर ल्याएको प्रजातन्त्रको त्यो लहरलाई संस्थागत गर्न आम निर्वाचन आवश्यक थियो । तर प्रजातन्त्र आएको आठ वर्षपछिमात्रै अर्थात् २०१५ फागुन २८ गतेमात्रै नेपाली नागरिकले पहिलोपटक स्वतन्त्रताको उच्चतम अभ्यासमा सहभागी हुन पाए । राणा फाल्न बन्दुक बोकेको नेपाली कांग्रेसका लागि उत्सवमात्रै थिएन, बरु नेपाली जनताको भावनालाई अपनत्व दिन अनि देशमा लोकतान्त्रिक संस्कारको बीजारोपणका निम्ति पार्टीलाई एउटा ‘कोशेढुंगा’ पनि थियो ।

त्यो चुनाव, जहाँ राजा, दरबार र राणाका अवशेषहरू दाउ हेरेर बसेका थिए । नेपाली राजनीतिक दलका निम्ति त्यो एउटा पहिलो त्यस्तो परीक्षा थियो, जहाँबाट उनीहरू ‘जनोमोदित’ हुनुपथ्र्यो । ऐतिहासिक जिम्मेवारीसँग इतिहासको एउटा अध्यायलाई जनता र अन्तर्राष्ट्रिय समुदायमाझ स्थापित गर्नुपर्ने अर्को निकै गहंँुगो चुनौती कांग्रेसको काँधमा थियो । त्यो बेला कांग्रेसको नेतृत्व सुवर्ण शमशेरले गर्नुभएको थियो ।

२०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा उहाँले नेपाली कांग्रेस हाँकिरहनुभएको थियो । एकातिर क्रान्तिको राप निभिसकेको थिएन, अर्कोतिर त्यो क्रान्तिको उपलब्धि संस्थागत गर्न र प्रजातन्त्रको रक्षाका निम्ति निर्वाचन जरुरी थियो । त्योभन्दा पनि यी सबका भारीले कांग्रेस थिचिएको थियो । अर्थात् त्यो सब राष्ट्रिय भार पार्टीले नै उठाउनुपर्ने थियो । त्यसका लागि सबैभन्दा पहिला त पार्टीको नेतृत्व आफैंमा बलियो गरी स्थापित हुनुपर्ने थियो । आफ्नै कार्यकर्ताहरूबाट वैधानिक रूपमा चुनिएरै पार्टी सभापति भएका सुवर्ण शमशेर आफू भने दुई वर्ष पनि पार्टी नेतृत्वमा रहेनन् । बरु उनले आम चुनावभन्दा अगावै पार्टीको ‘विशेष महाधिवेशन’ बोलाए र कांग्रेसलाई अघि बढाउने जिम्मेवारी बीपी कोइरालाको काँधमा सुम्पिदिए । सभापतिमा निर्वाचित भइसकेको मान्छे सुवर्ण शमशेर त्यही कार्यसमितिमा बीपीलाई नेतृत्व मानेर आफू भने कोषाध्यक्षमा रहे । कांग्रेसको आन्तरिक पार्टी जीवनमा भएको त्यो पहिलो र अहिलेसम्म एकमात्रै विशेष महाधिवेशन थियो ।

त्यो बेला बीपीलाई पार्टीको नेतृत्व लिन आग्रह गर्दै सुवर्ण शमशेरले भनेका थिए, ‘क्रान्ति गरेर लडाइँ जित्नुभन्दा शान्तिपूर्ण तवरले लडाइँ जित्न गाह्रो हुन्छ । हाम्रो यो शान्तिपूर्ण लडाइँ निर्धारित समयमा चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गर्ने हो । त्यसका निमित्त सक्षम र गतिशील नेतृत्वको आवश्यकता छ ।’ अनि बीपीले पार्टी कार्यकर्तालाई अपिल गर्दै भनेका थिए, ‘सुवर्णजी अहिले हाम्रो पार्टीको सभापति पदमा हुनुहुन्छ र यो पदबाट राजीनामा दिएर अर्को सभापतिको चयन गर्न उहाँले विशेष महाधिवेशन बोलाउनुभएको छ । यसले सुवर्णजी पार्टीको हितबाहेक अरू केही चाहनुहुन्न भन्ने कुरालाई अरू पुष्टि गरेको छ ।

यद्यपि कतिपयले त्यो बेला नेतृत्व हत्याउन बीपीले सुवर्णलाई बाध्य पारेको अनि पार्टीभित्र गुटबन्दी गरेर विशेष महाधिवेशन बोलाउन दबाब सिर्जना गरेको भन्नेजस्ता आरोपहरू बीपीमाथि लगाइयो । तर त्यो बेलाका दृश्यहरूले हाम्रा नेतृत्वहरूमा पार्टीलाई कसरी जोगाउने र राष्ट्रियता अनि लोकतन्त्रलाई संस्थागत गर्ने ? भन्नेबाहेक अर्को ध्येय देखिँदैन । न कुनै स्वार्थ, न कुनै अभीष्ट । नत्र कार्यकर्ताबाट अनुमोदित पार्टी सभापति पद त्यागेर त्यही कार्यसमितिमा आफू कसरी त्योभन्दा मुनिको कोषाध्यक्षमा बस्नका लागि सुवर्णजी राजी हुनुहुन्थ्यो होला र ? त्यो कुनै पद लोलुपता थिएन ।

बरु त्यो त पार्टीले आवश्यकता ठानेको जिम्मेवारी बहन गर्ने एक उत्कट चाहनामात्रै थियो । नत्र किन २०१५ सालको चुनावपछि राजा महेन्द्रले प्रधानमन्त्री बन्न आह्वान गर्दा पनि उनले बीपीलाई अघि सार्थे ? त्यो कुनै दबाब वा बाध्यता थिएन, बरु त्याग थियो । आफ्नै साथीका लागि त्यो एउटा मौका थियो । जनभावनाको कदर पनि थियो । जसरी बीपी कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर कांग्रेस २०१५ सालको चुनावमा होमिएको थियो र देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा परिणाम ल्याएको थियो ।

भलै त्यत्रो प्रजातान्त्रिक उपलब्धिहरू त्यो बेला दलहरूले थेग्न सकेनन् र फेरि २०१७ सालमा दरबारको आँखा तिरमिरायो । तत्कालीन राजा महेन्द्रले फेरि जननिर्वाचित सरकार (बीपी कोइराला)लाई अपदस्थ गरेर पञ्चायती युगको सुरुवात गरे । देशमा करिब ३० वर्षसम्म फेरि पञ्चतन्त्रको राज चल्न थाल्यो । राणापछि फेरि दरबारले नागरिकलाई रैती बनाएर निरंकुश शासन गर्न थाल्यो । बीपीहरू (नेपाली कांग्रेस) फेरि अर्को क्रान्तिमा होमिए । कहिले जेल त कहिले भारतको निर्वासित जीवन । उनीहरू जीवनपर्यन्त देशमा नागरिक अधिकार, प्रजातन्त्र र राष्ट्रियताको रक्षाका निम्ति लडिरहे ।

त्यसबीचमा २०३२ माघतिर बीपीले नेता कृष्णप्रसाद भट्टराईलाई पार्टी चलाउन ‘कार्यवाहक’ जिम्मेवारी दिए । सांगठिनक रूपमा तत्कालीन पार्टीका महासचिव गिरिजाप्रसाद कोइरालाले जिम्मेवारी निभाइरहेका थिए । त्यो बेला बीपी आफैं अस्वस्थ थिए । मेलमिलापको नीति लिएर नेपाल फर्किने तयारी गरिरहेका थिए । अनि पञ्चायतले रचेको ‘जनमत संग्रह’को कर्मकाण्डमा पनि कांग्रेस सामेल हुनुपर्ने थियो । जिम्मेवारीहरू धेरै थिए । त्यसबेला भारतमा उनले पत्रकारहरूलाई दिएको एउटा अन्तर्वार्तामा भनेका थिए, ‘मेरो राजनीतिक क्रियाकलापले तीन पुस्ता छिचोलेको छ– मेरो पुस्ता, मेरो छोराको पुस्ता र मेरो नातिको पुस्ता । नेपालको परिवर्तनशील राजनीतिमा अत्यन्त स्थिर तŒवमध्ये म पनि एक हुँ । मानिसहरू मलाई आँगनमा रहेको पुरानो ठूलो रूखलाई हेर्नेजस्तो दृष्टिले हेर्छन् । उनीहरू त्यसैले मलाई अपरिहार्य ठान्छन् (नेपाली कांग्रेसभित्र दोस्रो तहका नेता छैनन् भनेर आलोचना भइरहँदाको प्रसंगमा पत्रकार भोला चटर्जीले सोधेको प्रश्नमा बीपीको जवाफ ।’)

देशमा प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा भएको महाधिवेशनबाट किसुनजी फेरि पार्टीको निर्वाचित सभापति बने । २०४६ सालको जनआन्दोलनपछि उनकै नेतृत्वमा अन्तरिम सरकार बन्यो । एक वर्षभित्रै देशको संविधान जारी गरेर उहाँकै नेतृत्वमा कांग्रेस २०४८ सालको निर्वाचनमा होमियो । भलै उनले निर्वाचन जित्न सकेनन् तर देश अनि पार्टीलाई एउटा ठूलो अन्योलबाट निकास दिन सफल भए । कांग्रेस बीपी, सुवर्ण अनि किसुनजीजस्ता थुप्रै आदर्श पात्रको एउटा स्वप्नील रचना हो । जसका सपनाहरू बेचेर आज कांग्रेसले आफ्नो राजनीतिक दुकान जसोतसो चलाइरहेको छ । नेपाली कांग्रेसका इतिहासका गर्विला पानाहरू आजपर्यन्त छन् । देश, प्रजातन्त्र र राष्ट्रियता संकटमा पर्दा सधैं पद र शक्तिको लोभ त्यागेर अग्रजहरूले कांग्रेसलाई देशको एक निर्णायक शक्तिका रूपमा स्थापित गरेका थिए । एउटा तीतो सत्य के हो भने इतिहासका ती गर्वहरूलाई नियतिले सधैं साथ दिँदैन ।

आज देश अनि यहाँको राजनीतिक परिस्थितिलाई पनि एउटा त्यस्तै नियतिले थिचिरहेको छ । हामीले बीपीका अनुहार धेरै बेच्यौं । उहाँका सपनाका ब्यापार धेरै गर्‍यौं । किसुनजी अनि सुवर्ण शमशेरजस्ता व्यक्तित्वको सौदाबाजी हामीले धेरै नै गरिसकेका छौं । अब समय भएको छ, ती सबबाट बाहिर निस्किने । यो बीपीले बाँचेको युग होइन । सुवर्ण अनि किसुनजीहरूले बाँचेको समय पनि होइन । तथापि उहाँका आदर्शहरूलाई नेपाली कांग्रेसले झन् स्पात जसरी अड्याइरहनुपर्ने अवस्था आइसकेको छ । देशको यस्तो परिस्थितिमा देशको सबैभन्दा ठूलो अनि जिम्मेवार भनिएको एउटा राजनीतिक दल नेपाली कांग्रेस आफैं ‘किंमकर्तव्यविमूढ’को अवस्थामा छ । पार्टीको महाधिवेशन गर्नुपर्छ अनि त्यसका समय पुग्दैन गर्न हुँदैन भन्ने एउटा पत्तुर गलफत्तीमै कांग्रेसले एक महिना खेर फालिसकेको छ । महिना दिनको यो समय कम्ता बहुमूल्य र किमति थिएन । त्यही महाधिवेशनका लागि समय खोज्दाखोज्दा बितेको यो एक महिनाभित्रै पनि कांग्रेसले निकासका अनेक बाटा पहिल्याउन सक्नुपथ्र्यो । तर नेतृत्वमा त्यसको इच्छाशक्ति छैन । अनेकन स्वार्थ अनि व्यक्तिगत इगो र अभीष्टका कारण पार्टी र सिंगो राष्ट्रलाई नै बन्धक बनाइराख्ने छुट नेपाली कांग्रेसलाई छैन ।

इतिहासको यो थकथकीले नेतृत्वलाई पिरोल्छ वा पिरोल्दैन त्यो आफ्नो ठाउँमा होला तर कथंकदाचित् राष्ट्रले नै हार्ने अवस्था आयो भने त्यसबाट श्रापित कलंकको टीका नेपाली कांग्रेसले जिन्दगीभरि मेटाउन सक्ने छैन । गत भदौ २३ र २४ मा जेन—जी पुस्ताको आन्दोलनको एउटा प्रस्ट सन्देश के पनि हो भने पुरानै अनुहार देखाएर नयाँ अनि ताजा जनादेश पाइँदैन ।

कांग्रेसका फेरि यिनै ‘अस्वीकृत’ अनुहारहरू लिएर चुनावमा जाँदा अनुहारमा अझ कलंकले लत्पतिनुभन्दा अर्काे कुनै विकल्प बाँकी छैन । त्यसैले विधानले तोकेअनुसार तत्काल मंसिरभित्रै नियमित महाधिवेशनको आह्वानभन्दा अर्काे विकल्प अहिलेका लागि बाँकी छैन । त्यसका लागि समय पुग्छ वा पुग्दैन त्यो काम गर्दै जाँदा थाहा हुन्छ । नपुगे बाँकी काम चुनावपछि पनि गर्न सकिन्छ । तर कम्तीमा अहिले नै त्यसको कर्म सुरु गरौं । अरूले सक्ने, अरूका लागि समय हुने, नेतृत्व आफैंलाई गुटबन्दीका लागि समय हुने तर पार्टी रूपान्तरणका लागि समय नपुग्ने ? यो त हुनै सक्दैन । चुनावअघि नै अनुहार फेरौं, सोंच फेरौं । संकल्प फेरौं । पहिला आफू ताजा बनौं अनि बल्ल ताजा जनमत माग्न सुहाउँछ, ऐना त हामीले धेरै पटक पुछिसक्यौं । अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया