भर्खर दुई महिना भएको छ । तर जेन–जी विद्रोहलाई इतिहासको एउटा विस्मृति बनाउन चाहने राजनीतिक स्वार्थ समूहहरूले अब आफ्नो निर्लज्ज पूर्ववत् भंगिमामा प्रस्तुत हुने हिम्मत जुटाइसकेका छन् । यो सबै देख्दा मलाई एउटा बिर्सिसकेको प्रसंगको सम्झना भइरहेको छ । विषयमा त्यही सम्झनाबाट प्रवेश गरौं ।
जेन–जी सुरु हुने वर्ष, १९९७ सालकै कुनै मंगलबारको घटना हो । मार्टिन चौतारी भन्ने संस्था उसले हरेक मंगलबार साँझ चलाउने खुला ‘गफ’ का लागि चिनिँदै थियो । आफू भर्खर विश्वविद्यालय सकेर मास्टर्सलाई नै पढाउन थालेको बेला ।
आइन्सटाइन, स्टेभेन हकिङ, नित्जे, काफ्का, सार्त्र वा सोभन्दा ‘तल’ का विषयलाई खासै विषय नै नगन्ने बेला थियो । बस्न त यही नेपाल देशकै एक टुक्रामा बसिन्थ्यो तर चिन्ता र चिन्तन भने विश्व त के, ब्रह्माण्डकै हुन्थ्यो । त्यस्तैमा एक जना साथीले सुझाइन्, ‘तिमीलाई मार्टिन चौतारीका गफ मन पर्छ होला ।’ त्यहाँ समसामयिक विषयमा एक जना ‘पण्डित’ केही बेर बोल्दा रहेछन्, अनि छलफलचाहिँ खुला खालको हुने रहेछ ।
त्यहाँ प्रायः ‘देश बनाउन’ प्रतिबद्ध भएका मानिसहरू आउँदा रहेछन् । कसरी बनाउने भन्नेमा उनीहरूका कुरा नमिल्दा हुन् तर बनाउनुपर्छ भन्नेमा मिल्दो रहेछ । मैले भने आफूलाई ‘मेरो सम्पूर्ण जीवन राष्ट्रलाई’ भनेर कहिल्यै ‘कमिट’ गर्न नसकेको । आफ्नो जीवन त आफूलाई नै पो हो भन्ने लाग्ने । जीवन भएर न राष्ट्र चाहिएको हो, राष्ट्र चाहिएकाले मेरो जीवन बनेको त हैन होला नि भन्ने सोचिने । त्यस दिन संविधान वा कानुनको त्यसबेलाको कुनै चर्चित विषयमा छलफल
भएको थियो । मलाई खासै स्वाद लागेन । अब आइ त हालियो, यिनीहरूलाई पनि केही ‘दिएर जाऊँ’ भन्ने अभिमानले हुनुपर्छ, मैले अन्तिमतिर अल्बेअर कामुको हो कि फ्रेन्ज काफ्काको ‘द ट्रायल’ को अस्तित्ववादी कानुनको कथा सुनाएर उनीहरूको देश चलाउने कानुनलाई उडाएको थिएँ । हिँड्ने बेला आयोजकमध्ये कसैले मलाई भन्यो, ‘तिमी पनि पण्डित भएर आउ न कुनै साता ।’ निमन्त्रणा त सहर्ष स्विकारियो तर केमा बोल्ने भन्ने भयो । र, अवचेतन मनबाट विषय स्वाट्ट फुर्यो– ‘राष्ट्रियताको विनिर्माण’ ।
विश्वविद्यालय वृत्तमा आफ्नो सानोतिनो परिचय थियो होला तर यता चौतारीतिर आउनेहरू धेरैसँग म अपरिचित थिएँ । त्यसैले त्यस दिन सुन्न आउनेको संख्या धेरै भए जस्तो सम्झना छैन । तर यो राष्ट्रियता भनेर मलाई बुझाउन खोज्ने जेजति ‘डोमिन्यान्ट न्यारेटिभ’ हरू छन्, तिनलाई भत्काउन मन लागेको सम्झना गाढा छ । अहिले, जेन–जी विद्रोहको दुई महिना पुग्दा नपुग्दै खासगरी दुइटा ठूला राजनीतिक दलीय तप्काहरूले त्यो विद्रोह केही पनि थिएन भन्ने जस्तो पार्न त्यसमा संलग्न केही विवादास्पद पात्रहरूको भूमिकालाई बढाएर बुझाउन प्रयास गर्दै छन् । त्यो जे थियो, त्यसलाई त्यो थिएन भनेर ‘न्यारेटिभ’ बनाउन सुरुमा डराएकाहरू अहिले आफ्नो वास्तविक ‘फर्म’ मा आइसकेका छन् । तर मैले यो विद्रोहलाई बुझ्ने क्रममा यसको अर्थ त्यही प्राचीन सम्झनामा देखेको छु, जसको अब विस्तारमा व्याख्या गर्नेछु ।
अलि अलि सामाजिक चेतना बन्ने बेला अर्थात् स्कुलमा पढ्ने बेला पढ्दा देशमा पञ्चायती शासन थियो । यो देश पृथ्वीनारायण शाहले बनाएका हुन् भनेर बुझाइन्थ्यो । उनी मरेपछि उनका छोरा, अनि उनका छोराको हुँदै यो देश त्यतिबेला वीरेन्द्रको रहेछ भन्ने मेरो देशबारे पहिलो बुझाइ थियो । उनले मन पराएका मानिस प्रधानमन्त्री हुँदा रहेछन् भन्ने मैले बुझें ।
अनि त्यो पञ्चायतको नाममा राष्ट्रिय पञ्चायतका सदस्यदेखि गाउँका प्रधानपञ्चसम्म सबैले यो देश मेरो हो भनेको जस्तो लाग्थ्यो । निर्दोष रूपमा मलाई लाग्यो यो देश भन्ने चीज खासमा जुन राजाले जित्यो, उसैको हुँदो रहेछ अनि उनले पत्याएका केही मानिसहरूको । म त जहाँ थिएँ, त्यहीँ थिएँ तर म जन्मेको भूभाग पहिले एउटा राजाले जितेका रहेछन्, त्यसैले मेरो देश यो हुन आएको रहेछ । यो देश तेरो पनि उत्तिकै हो भनेर मलाई कसैले बुझाएन, मैले आफैं पनि बुझ्न सकिनँ । मलाई लाग्यो यो देश उनीहरूकै हो ।
पछि आफू पनि अलि अलि बुझ्ने हुँदै गइयो, देशमा पनि २०४६ को प्रजातन्त्र आयो । नेपाली कांग्रेसले भन्दो रहेछ, देश भनेको माटोभन्दा बढी जनता हुन् । सार्वभौमिकता वा देश कस्तो बनाउने भन्ने अधिकार जनतामा अन्तरनिहित हुन्छ । सुन्दा हो कि जस्तो लाग्यो । ए, यो देश भनेको त अरूको मात्र नभई मेरो पनि हुन सक्दा ेरहेछ कि भन्ने भान भयो । वामपन्थीहरूले भन्दा रहेछन्, सारा इतिहास भनेको वर्गसंघर्षको इतिहास हो ।
देश भनेको सर्वहाराहरूको अधिनायकत्वमा चल्नुपर्छ । इतिहासदेखि सधैँ दमनमा परेको वर्ग अब आफ्नो शासन गर्न आफैं अगाडि सर्ने हो । यो देश भन्ने चीज जसको पनि हुन सक्ने रहेछ भन्ने सुन्दा रमाइलो नै लाग्यो । पछि आएका माओवादीले अझ जुन समुदायसँग गयो, यो देश तिमीहरूकै बनाइदिन्छौं भने ।
तर अहिले फर्केर हेर्दा यिनीहरू सबैले गरेको के रहेछ भनेर बुझ्न दुई–तीन वटा होइन, एउटै निष्कर्ष यथेष्ट देखिँदो रहेछ । त्यो के भने– यिनीहरूले गरेको आफूभन्दा पहिलेका शासकवर्गबाट देश खोसेर आफू तिनीहरूको ठाउँमा बस्नु रहेछ । कसैले मलाई चुनौती दिओस्, स्वीकार छ तर म फिटिक्कै ‘कन्भिन्स’ छैन कि यो देशमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले राजनीति गरेको नागरिकका रूपमा मेरो केही भलाइ होस् भनेर हो ।
कुनै समयमा राजाबाट राणाले देश खोसेका थिए । पछि राजा र कांग्रेस मिलेर राणाबाट खोसे । राजाले फेरि कांग्रेसबाट खोसे । कांग्रेसले एक्लै राजाबाट फिर्ता गर्न नसकेपछि कम्युनिस्टसँग मिलेर खोस्यो । कम्युनिस्टको अर्को कडा घटकले पहिलेका सबैबाट खोस्न खोज्यो । नसकेपछि मिलिजुली गरेर ज्ञानेन्द्रबाट खोसे । मधेशका केही भाग माग्न आए ।
अनि यी सबैका नाइकेहरूले आफ्ना दलको नेतृत्व आफू र आफ्नाबाट नखोसिने बनाए र संविधान यस्तो बनाए कि अब देश जति खोसिए पनि यिनीहरू एकअर्काबीच मात्र खोसिन सक्ने हुने भयो । देश भनेको यिनीहरूलाई भोग्नका लागि बनेको कुनै वस्तु जस्तो भयो । यिनीहरूले दिने भनेको कुशासन, गर्ने भनेको भ्रष्टाचार, देखाउने भनेको अहंकार भयो । र, यसको अन्त्य कहिले हुन्छ भन्ने कसैलाई थाहा नहुने भयो । अब एकैछिन अडिएर सोचौं त, त्यस्तो स्थितिमा जेन–जी विद्रोह नभएर हुनुपर्ने के थियो ?
जेन–जी विद्रोहको सबैभन्दा सुन्दर पक्ष के हो भने यो कसैको पनि थिएन, त्यसैले त्यो भावनासँग मिसिने यो सबैको थियो । यो जनताले देश आखिर कसको हो त भनेर बताइदिएको एक जबर्जस्त ‘स्टेटमेन्ट’ थियो । र त्यस ‘स्टेटमेन्ट’ को सार थियो– देश यहाँ बस्ने जनताको हो । यदि कसैले मैले १४ वर्ष तिमीहरूको कल्याण गरिदिन्छु भनेर जेल बसेको थिएँ भनेर सुनाउँछ भने, अहिलेका युवाले बुझ्ने भए ‘यो मान्छेले हामीलाई ठग्न आँट्यो ।’
अब उनले उसलाई सोध्ने भए, ‘तिमी जेल बस्यौ त आफ्नो इच्छाले बस्यौ, हामीलाई अहिले त्यो सुनाउनुको उद्देश्य कतै मैले त्यसबापत कुशासन गर्न पाउनुपर्छ भनेको त हैन ?’ यदि कसैले मैले तिमीलाई लोकतन्त्र ल्याइदिएको थिएँ भन्छ भने अब जेन–जीले सोधिसके– ‘सक्छौ भने लैजाऊ न त तिमीले ल्याएको लोकतन्त्र । हामीलाई थाहा छ, हाम्रो लोकतन्त्र कसरी फिर्ता ल्याउने ।’ कसैले मैले इतिहासमा यसो गरेको थिएँ भन्छ भने उसलाई अब सोध्न सकिने भयो– किन गर्यौ त त्यो ? तिमीले नगरेको भए बरु त्यो काम गर्ने अर्को राम्रो मानिस पो आउँथ्यो कि ? ठीक छ, इतिहासमा समाज बदल्छु भनेर राजनीतिमा होमिँदा यिनीहरूको उद्देश्य पवित्र थियो रे । तर लोक सेवाको अधिकृतका लागि तयारी गर्ने तन्नेरीले पछि गएर भ्रष्ट हुन्छु भनेर सोचेको हुन्छ त ? कुरा उस्तै होइन र ?
त्यो बेला राजा ज्ञानेन्द्र लुरुक्क राजगद्दी छाड्न बाध्य भएका थिए । बाध्य मात्र होइन, सकुशल नागार्जुन जान पाएकामा सायद बरु खुसी नै थिए । त्यो बेला उनले र उनका समर्थक कसैले भन्न सकेका थिए– यो अन्यायपूर्ण भयो भनेर ? थिएन । पछि स्थिति सामान्य हुँदै गएपछि र उनलाई फाल्ने पात्र स्वयम् बदनाम हुँदै गएपछि अलिअलि बोल्ने हिम्मत गर्न थालेका हुन् । त्यस्तै, भदौ २४ गते ज्यान जोगाउन सेनाले भगाइदिएकामा केपी ओली कृतज्ञ भएको हुनुपर्छ । अहिले दिन बित्दै गएपछि त्यो असंवैधानिक थियो भन्नु ज्ञानेन्द्रले आफूलाई हटाउनु अन्यायपूर्ण थियो भन्नु जस्तै हो । शेरबहादुरले अहिले पूर्णबहादुरमार्फत बोल्ने हिम्मत जुटाएको पनि त्यस्तै हो । तर मेरो बुझाइ संक्षेपमा यति मात्र छ– जेन–जी विद्रोहबाट जनताले आफ्नो देश खोसेर आफूसँग ल्याएका हुन् ।
विषय बृहत् छ, लेख्नुपर्ने धेरै छ । तर अब सारांशमा भनेर बिट मारौं । नेपालको इतिहासमा पहिलोपल्ट कुनै संगठित शक्तिबिना स्वस्फूर्त रूपमा युवाले देश ओली, देउवा, प्रचण्ड र उनका आसेपासेहरूको मात्र होइन, यहाँ बस्ने सबैको बराबर हो भनेको जेन–जी विद्रोहमार्फत हो । अहिले ओली, देउवा, प्रचण्डको चिन्ता आफूले आफ्नो बनाएको देश ‘अरू’ ले खोसे भन्ने हो, अरू केही होइन । ती ‘अरू’ को हुन् थाहा छ ? ती इतिहासदेखि देश हडपेकाहरूले ‘अरू’ बनाइएकाहरू हुन् । हो, २३ भदौमा त्यति धेरैको मृत्यु भयो । २४ मा हृदयविदारक आगजनी र हिंसा भयो । अनगिन्ती घुसपैठ भए भन्ने रिपोर्टहरू अझै आउँदै नै छन् ।
हो, यो विद्रोहको कुनै एक नेता थिएन । हो, यसका आह्वानकर्ताहरूलाई यसले यति ठूलो परिणाम ल्याउला भन्ने थाहा थिएन । हो, यो विद्रोहको भावना जुन थियो त्यसलाई संगठित शक्तिमा बदलेर देशलाई रूपान्तरणतर्फ लैजान सक्ने कोही नहोला । यसलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्नेहरू तम्सिइरहेका पनि होलान् । यो सबै जे जे भए वा नभए पनि, यो जे थियो त्यो ठूलो थियो । यो विद्रोहले मात्रै लामो रूपान्तरणको खाका नदिन सक्छ ।
अब हुने चुनावमा फेरि तिनै पुराना दलका केही पुरानै पात्रको वर्चस्व जारी रहन पनि सक्छ । तर जेन–जी विद्रोहले यो देश भनेको कसको हो भन्ने वर्चस्वशालीहरूको भाष्यलाई भत्काएको छ । मेरो अवचेतनले त्यतिबेला गर्न खोजेको विनिर्माण अहिले वास्तविकतामा भएको छ । र, भनेको छ यो देश पहिले ज्ञानेन्द्रको जति थियो र हालैका दिनमा ओली, देउवा र प्रचण्डको जति थियो, त्यति नै हरेक यहाँ बस्ने नागरिकको हो । र, यो पनि प्रस्टसँग देखाइदिएको छ– देश तिमीहरूले मात्र खोस्न सक्छौ र ? हामीले सक्दैनौं ?
जाँदाजाँदै, २३ र २४ भदौलाई बुझ्न षड्यन्त्रका सिद्धान्तमा भर पर्नेहरूका लागि केही पंक्ति लेखौं । इतिहासदेखि नै मानिसले अलिक जटिल कुरा बुझ्न सकेन भने सजिलोसँग बुझिने कथामा ओत लाग्ने गरेको छ । जस्तो, ब्रह्माण्ड कसरी बनेको होला र यो कसरी चल्ने होला भन्ने बुझ्न त गाह्रो छ । त्यसैले यो कुनै ‘भगवान्’ ले ‘छुमन्तर’ गरेर बनाइदिएको हो भन्यो भने धेरैले त्यही कथा सजिलै पत्याउँछन् । समाजमा ठूला विस्मयकारी घटना घटे भने त्यसलाई तार्किक रूपमा बुझ्न, विश्लेषण गर्न सबैले सक्दैनन् । सबैको मस्तिष्क उही स्तरको तार्किक विवेचना गर्न अभ्यस्त भएको हुँदैन । जस्तो, ‘मदन भण्डारी जस्ता ठूला नेताको गाडी कसरी दुर्घटनामा पर्न सक्छ ? दुर्घटनामा त साधारण मानिसको गाडी पो पर्ने हो ।’
उनीहरूलाई यसरी सोच्न सजिलो हुन्छ । एकै परिवारका कसैको सामूहिक हत्या भएको छ भने उनीहरू सजिलै पत्याउँछन् तर ‘राजा वीरेन्द्रको परिवार कसरी त्यसरी मारिन सक्छ ? युवराज दीपेन्द्रले कसरी त्यस्तो गर्न सक्छन् ?’ सामान्य सोचिने त्यस्तै हो । त्यसैले जेन–जी विद्रोहमा यति ठूलो के भएको होला भनेर बुझ्न यदि कसैले कुनै षड्यन्त्रको सिद्धान्तमा विश्वास गरेर, यो फलानोले गराएको हो भन्ने एउटा जवाफ पाएको छ भने मलाई उसप्रति रिस उठ्नुको सट्टा सहानुभूति लाग्छ । किनकि जानीबुझीकन कसैले षड्यन्त्र सिद्धान्तमा विश्वास गर्छु भनेर गरेको हुँदैन । ‘इभोलुसन’ मा मानिसको मस्तिष्क नै सजिलै त्यस्ता कथाहरू पत्याउने गरी विकसित भएको छ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया