असार २४, २०८२ मंगलबार July 8, 2025

पहाडबाट मधेसी जिताउने बिपीको सपना- तुलानारायण साह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कुरा ०७० सालको हो, पहिलो संविधानसभा क्रियाशील थियो । कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा बहस चल्दै गर्दा निर्वाचन प्रणाली सम्बन्धित एउटा कार्यक्रममा पंक्तिकार सञ्चालक थियो भने संविधानसभा सदस्य डा. मिनेन्द्र रिजाल वक्ता । निर्वाचन, मधेस र बिपीसँग जोडेर डा. रिजालले एउटा प्रसंग उल्लेख गरेका थिए । ०१५ सालको संसदीय निर्वाचनमा सप्तरीको पश्चिमी क्षेत्र (हालको सिरहा) बाट तराई कांग्रेसका वेदानन्द झा उम्मेदवार थिए भने नेपाली कांग्रेसको टिकटमा माधवबाबु रेग्मी । तराई कांग्रेस भनिरहेको थियो, ‘नेपाली कांग्रेसले पहाडबाट पहाडियाहरूलाई मात्र टिकट दिएको छ । मधेसबाट पनि पहाडियालाई नै उठाएको छ । अनि मधेसी कहाँ गएर चुनाव लड्ने ? कसरी राजनीति गर्ने ? चुनाव प्रचारको क्रममा सिरहा पुग्दा बिपीले तराई कांग्रेसलाई जवाफ दिँदै मतदातासँग अपिल गरेका थिए, ‘यसपटक तपाईंहरू माधवबाबुलाई जिताउनुहोस् ।

अर्को निर्वाचनमा नेपाली कांग्रेसले मधेसीलाई पहाडबाट उम्मेदवार बनाउनेछ । जिताउने जिम्मा मेरो । एकपटक मलाई विश्वास गर्नुहोस् ।’ मधेसी मतदाताले बिपीलाई विश्वास गरे, रेग्मीलाई नै जिताए । ‘त्यसपछि नेपालको राजनीतिमा धेरै उथलपुथल भइसक्यो । बाग्मतीमा धेरै पानी बगिसकेको छ । आज पाँच दशकपछि पनि बिपीको त्यो सपना पूरा हुन सकेको छैन,’ डा. रिजालले थपेका थिए । त्यसपछि मधेसीलाई पहाडबाट टिकट दिलाउने अवसर बिपीले पाएनन् । यसैले उनले त्यस्तो अवसर पाएको भए आफ्नै घोषणा कार्यान्वयन गर्थे होलान् भनेर कल्पना गरौँ, अहिलेका लागि ।

हामीकहाँ हुने निर्वाचनहरू (पार्टीभित्रको होस् वा बाहिरको) मा केही खास तथ्य चट्टानझैँ स्थापित छन् । दलितलाई भोट दिन अन्य जातका मतदातालाई दिगमिग लाग्छ । अपवादबाहेक जनजाति र मधेसी नेताको अवस्था पनि त्यही छ । एकै समुदायका दुई नेताबीच प्रतिस्पर्धा भयो भने बेग्लै कुरा, नत्र सामान्यतया दलित, मधेसी र जनजातिलाई बाहुन–क्षेत्रीले भोट दिएर नेता बनाइहाल्दैनन् । अपवादको लागि त जहाँ पनि ‘स्पेस’ हुन्छ । ०४६ सालयताका कांग्रेस र विभिन्न वामपन्थी पार्टीको आन्तरिक निर्वाचनको परिणामले पनि त्यही देखाएको छ । लगभग दर्जनपटक भएका केन्द्रीय विधायिकाको निर्वाचन (२०१५ सालको संसदीय र पञ्चायतका चुनावसमेत) को परिणाम त झन् उदेकलाग्दो छ । यसैले कांग्रेसको सभापतिमा विमलेन्द्र निधिको दाबीबारे उपरोक्त तितो यथार्थलाई नजरअन्दाज गरी बहस गर्दा अपुरो हुन पुग्छ । डा. रिजाल वा उहाँजस्तै केही कांग्रेसीले निधिको उम्मेदवारीलाई मधेसी पहाडीको कोणबाट नलेलान्, तर पार्टी, समाज जतासुकै त्यो धारणा जीवितै छ । लुकाएर लुक्ने विषय होइन यो । आगामी महाधिवेशनमा बिपीको त्यो सपनाको दायराभित्र निधिको उम्मेदवारी अटाउन योग्य छ कि छैन, कांग्रेसीहरूले जान्ने कुरा हो । तर, आममधेसी, दलित, जनजातिको मनमा यो उत्सुकताको विषय बनिरहन्छ ।

सात-आठ दशकमा नेपाली समाजमा व्यापक बदलाव आएको छ । मधेसको वर्गीय, जातीय, लैंगिक सम्बन्धमा उथलपुथल आएको छ । समाज, राज्य र राजनीतिलाई हेर्ने नजरिया फेरिएको छ । मधेसीले अनेकौँ आन्दोलन गरेसँगै कम्तीमा अहिलेका मधेसी युवाले कसैको संरक्षण खोजेका छैनन् ।

त्यसो त निधिले कांग्रेसको पार्टी सभापतिका लागि औपचारिक उम्मेदवारी घोषणा गर्न बाँकी नै छ । तैपनि निधिले सभापति शेरबहादुर देउवासमक्ष आफू चौधौँ महाधिवेशनमा सभापति हुने जानकारी गराएसँगै ठूलै तरंग आइसकेको छ । लामो समयदेखि शेरबहादुर देउवाको प्रभावशाली ‘ट्वाइसी’ रहेका निधिको दाबीलाई मोलाहिजाको अस्त्रभन्दा बढी नठान्नेहरू नभएका होइनन् । तर, कांग्रेसको राजनीति बुझेकाहरूले यसलाई दूरगामी महत्वकै रूपमा लिएका छन् । निधिको दाबीसँगै ‘देउवाको समूहमा उनी एकल उम्मेदवार छन्, विपक्षी खेमामा रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह सभापतिका दाबेदार छन् । यसैले चौधौँ महाधिवेशनमा देउवा निर्विकल्पतुल्य हुन्’ भन्ने आमबुझाइको पटाक्षेप भएको छ । यसैले देउवाले निधिको दाबीलाई असहज रूपमा लिएको अनुमान गर्न गाह्रो छैन ।

निधिको उम्मेदवारीको चर्चा सुरु भएपछि कांगे्रस वृत्तका अनेकन् लेखक, शुभचिन्तक अनि विश्लेषकले यो पंक्तिकारसँग पनि जिज्ञासा राखे, राखिरहेकै छन् । जिज्ञासु मित्रहरूको प्रत्यक्ष वा परोक्ष प्रश्न हुन्छ, ‘विमलेन्द्र निधि कांग्रेस सभापति भए भने मधेसमा त्यसको के प्रभाव पर्छ ? मधेसवादी पार्टीतिर गएको कांग्रेसको मत फर्किन्छ कि फर्किन्न ?’ कतिपयले निधिलाई अझै पनि मधेसको नेताको रूपमा मात्र सीमित गरेको बुझिन्छ । पहाडतर्फ उनको खासै पकड नरहेको पनि मधुरो स्वरको प्रतिक्रियाहरू नसुनिएको होइन । तर, डा. मिनेन्द्र रिजालको प्रतिक्रिया बिल्कुलै फरक छ । अहिले शशांक कोइरालाको दाहिने हात देखिएका प्रभावशाली नेता डा. रिजालको प्रतिक्रिया रणनीतिक पनि होला, तर उनका अन्तर्वार्ताहरू पढ्दा त्यस्तो आभास भएन । उनले निधिको उम्मेदवारीलाई मधेससँग जोडेर हेरेका छैनन् । बरु कांग्रेसको आन्तरिक राजनीतिमा दूरगामी प्रभाव छाड्ने तर्क गर्छन् ।

पंक्तिकारलाई निधि वा रिजालको महिमामण्डन गर्नु छैन । दुवै समकालीन नेता कुनै वेला एकसाथ नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । दुवै लामो यात्रा पार गरेर यहाँसम्म पुगेका हुन् । एक दशकदेखि चिनजान र केहीपटकको छोटो–अधुरो संवादका क्रममा पंक्तिकारले अनुभव गरेको साझा कुरो के हो भने दुवै नेता राजनीतिलाई क्षेत्र, जात वा सम्प्रदायको दायराभन्दा माथि राखेर समग्रतामा हेर्ने गर्छन् । कांग्रेसको स्थापित सिद्धान्त पनि यही हो । तर, आजको राजनीतिमा (कुनै पनि पार्टीभित्र वा बाहिर) जाति, क्षेत्र र सम्प्रदायको कुरा लुकाएर लुक्ने विषय रहेन । जुन कुरा मसँग जिज्ञासा राख्ने अनेक कांग्रेसी मित्रहरूको प्रश्नभित्र पनि लुकेको हुन्छ । चाहेर–नचाहेर निधिको उम्मेदवारी कांग्रेसभित्र र बाहिर मधेससँग जोडिइहाल्छ । त्यसकारण लेखमा दुई फरक प्रसंग उल्लेख गर्नु उचित ठानेको छु ।

पहिलो, ०४८ सालमा पढ्न काठमाडौं आउँदा मसँग नेपाल विद्यार्थी संघको कार्यकर्ताको चिनारी जोडिएको थियो । यहाँको सामाजिक र राजनीतिक माहोल मधेसीमैत्री थिएन, अझ मधेसअमैत्री थियो भन्दा सही सुनिन्छ । विद्यार्थी जीवन सकिएपछि कांग्रेस वृत्तका अनेकौं तितामिठा सम्झना छाडेर मधेस आन्दोलनमा हेलिइयो । बितेको डेढ दशकमा मधेसमा ठुल्ठूला आन्दोलन भए । जनकपुर मधेस आन्दोलनको केन्द्रबिन्दुमा रह्यो । अनेकौँ नेता कांग्रेस परित्याग गरेर मधेसी राजनीतिमा सरिक भए । यो क्रम रोकिएको छैन । तर, निधिलाई कुनै मधेस आन्दोलनले प्रभाव पार्न सकेन । आन्दोलन चर्किंदै जाँदा मधेसका गाउँबस्तीमा प्रहरी ज्यादती बढ्थ्यो । आन्दोलनकारीको छाती र टाउकोमा गोली बर्सिंदा हाम्रो नजरमा कांग्रेस वा एमालेमा रहेका मधेसी नेता गद्दार गनिन्थे । निधिलाई पनि त्यसभन्दा फरक चस्माले हेरिन्थेन ।

कांग्रेसका नेताहरू मधेसबारेको पुरानो संरक्षणवादी शैलीको राजनीतिक मनोविज्ञानबाट मुक्त हुन चाहन्छन् कि चाहँदैनन् ?

पछिल्लो आमचुनावको पूर्वसन्ध्यामा पंक्तिकार केही साथीसहित जनकपुर पुगेको थियो । माहोल पूरै चुनावमय हुने नै भयो । चिया पसल, पान पसल, चोक–चौराहा जहाँ पनि चुनावकै चर्चा थियो । जनकपुर सहर पनि समावेश क्षेत्रमा निधि र राजेन्द्र महतो भिड्दै थिए । धेरै सर्वसाधारणसँग कुराकानी गरियो । सहरी क्षेत्रमा सबैजसोको एउटै उत्तर हुन्थ्यो, ‘यसपटक छाता छापको जोड छ ।’ छाता छाप महतोको चुनाव चिह्न थियो । थप प्रश्न सोधिन्थ्यो, ‘निधिले त राम्रै काम गरेका छन्, गाउँँगाउँमा सडक पुर्‍याएका छन् । किन उनलाई भोट नदिने ?’ धेरैको जवाफ हुन्थ्यो, ‘निधि कांग्रेसी हो । कांग्रेस पहाडियाको पार्टी भयो । हामी आन्दोलनमा हुँदा प्रहरीले त्यत्रो दमन गर्दा कांग्रेसको सरकार थियो, तर निधिले हाम्रा लागि कहिल्यै बोलेनन् । आज कसरी उनलाई भोट दिनु ?’ अहिले काठमाडांैका कतिपय कांग्रेसी मित्रहरूको जिज्ञासाभित्र निधिलाई मधेसी समुदायका प्रतिनिधि पात्रको रूपमा उभ्याएको पाउँदा मलाई चुनावताका जनकपुरमा मधेसीहरूसँग भएका यिनै संवादको याद ताजा भएर आउँछ ।

अर्को प्रसंगको चर्चा गरौँ, जुन कुरा अनेकन् कांग्रेसी मित्रले सोध्ने गर्छन् । निधि सभापति भए भने मधेसमा कांग्रेसको मत फर्किन्छ कि फर्किन्न ? सरसर्ती हेर्दा यो प्रश्नले कांग्रेस पार्टीलाई चुनावी राजनीति मात्र गर्ने समूहको रूपमा खुम्च्याइदिन्छ । के कांग्रेस निर्वाचन मात्रका लागि राजनीति गर्ने पार्टी हो र ? हुँदै होइन र हुनु हुँदैन पनि । माथिको प्रश्नको उत्तर पाउनका लागि हामी फेरि विगतमा फर्किनुपर्छ । कांग्रेस र मधेसबीचको सम्बन्धको ऐतिहासिक विश्लेषण हुनुपर्छ । कुन समयमा मधेसका कस्ता पृष्ठभूमिका नेताले के उद्देश्यका साथ कांग्रेसलाई साथ दिएका थिए भन्ने बुझ्नु जरुरी हुन्छ ।

कांग्रेसको स्थापना राणाशासन फालेर मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनार्थ भएको थियो । त्यसबखत मुलुकमा सामाजिक र राजनीतिक रूपमा सामन्तहरूको वर्चस्व थियो । मधेसमा जमिनदारहरू थिए । आममधेसी मधेसकै जमिनदारबाट शोषित थिए । मधेसका जमिनदारचाहिँ काठमाडांैका राणाशासक र ठूला जमिनदारबाट प्रताडित थिए । मधेसी जमिनदारहरूलाई राणाशासनविरुद्ध संघर्ष गर्नु थियो, तर एक्लै सम्भव थिएन । त्यसैबखत कांग्रेसको उदय भएको थियो । भारत भर्खर–भर्खर स्वतन्त्र भएको थियो । भारतीय नेताहरूको प्रभाव पहाडभन्दा मधेसमा हुनु स्वाभाविक थियो । त्यस परिवेशमा मधेसका ठूलाबडा, जमिनदारहरू कांग्रेससँग जोडिएका थिए । जानेर वा नजानेर कांग्रेस मधेसी समाज र त्यहाँका नेताहरूको संरक्षकको रूपमा स्थापित भएको थियो । यसरी कांग्रेस र मधेसी समाजबीचको प्रारम्भिक सम्बन्ध समानतामा आधारित थिएन । पहिलो पुस्ताका कांग्रेसी नेताहरू भन्थे, पार्टीलाई बलियो बनाउनु छ भने मधेसीलाई पनि केही उच्च पदमा ल्याउनुपर्छ । एउटाले दिने र अर्कोले लिने यो शैली आफँैमा संरक्षणवादी राजनीतिको प्रमाण थियो ।

सात–आठ दशकमा नेपाली समाजमा व्यापक बदलाव आएको छ । सबैखाले सम्बन्ध फेरिएका छन् । मधेसको वर्गीय, जातीय, लैंगिक सम्बन्धमा उथलपुथल आएको छ । समाज, राज्य र राजनीतिलाई हेर्ने नजरिया फेरिएको छ । मधेसीले अनेकौँ आन्दोलन गरे । अरूले गरेका आन्दोलनहरूको प्रभाव मधेसको गाउँ देहातसम्म परेको छ । कम्तीमा अहिलेका मधेसी युवा पुस्ताले कसैको संरक्षण खोजेको छैन । असमानता मेटाउन नसके पनि सहेर बस्दैनन् । विरोध गर्छन् । समानतामा आधारित सम्मानपूर्ण व्यवहारको राजनीति चाहन्छन् ।

०६३ सालयताका उथलपुथलपूर्ण राजनीतिबाट एउटा कुरा बडो स्पष्ट भएको छ, मधेसी आफैँ नेता बन्न चाहन्छन् । सधँैभरि करदाता, मतदाता वा कार्यकर्ता मात्रमा चित्त बुझाउनेवाला छैनन् । यस कालखण्डमा अनेकौँ मधेसी कांग्रेस, एमाले, माओवादीजस्ता पार्टी छाडेर आफ्नै पार्टी बनाउनेतिर लागे । मधेसी समाजमा बदलिएको सोच र विकसित नयाँ मनोविज्ञान पुराना पार्टीहरूको नीति, सिद्धान्त र नेताहरूको मनोविज्ञानसँग सम्बन्धित छ । यो कुरा कांग्रेसमा पनि लागू हुन्छ । विमलेन्द्र निधि पार्टीको सभापति हुनु वा नहुनुले केही फरक पर्ला, तर सबै कुरा प्रभावित गर्न सक्दैन । कांग्रेसका नेताहरू मधेसबारेको पुरानो संरक्षणवादी शैलीको राजनीतिक मनोविज्ञानबाट मुक्त हुन चाहन्छन् कि चाहँदैनन् ? मधेसको भोटमा मात्र ध्यान दिने उपभोक्तावादी सोचमा पुनर्विचार गर्छन् कि गर्दैनन् ? आजको सर्वाधिक महत्वको प्रश्न हो यो, जसले मधेस र कांग्रेसबीचको भावी सम्बन्धको रोडम्याप तयार पार्नेछ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया