वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ ।

एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार भएका निकायले गरेका छन । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे ।

मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान्ले पहिलो अवतार लिएको स्थान भए पनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया