मंग्सिर १०, २०८२ बुधबार November 26, 2025

म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री

म्यान्माको बिग्रँदो आर्थिक अवस्थाका कारण रोजगारी खोज्दै देश छोड्नेको सङ्ख्या उल्लेख्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौं । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका म्यान्माका निर्वाचनहरू स्वतन्त्र र विश्वसनीय दुवै नहुने स्पष्ट रूपमा बताउँदै हिरासतमा रहनुभएकी लोकतान्त्रिक नेत्री आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान गर्नुभएको छ ।
सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा सरकारले निर्वाचित जनादेश पाएको आङ सान सुकीको नेतृत्वको सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । त्यसपछिका वर्षहरूमा तीव्र गृहयुद्ध भडकिएको छ ।
सैन्य जुन्ताले यो चुनावलाई मेलमिलाप र स्थिरतामा फिर्ता जाने अवसरका रूपमा चित्रण गर्दै आएको भए पनि आङ सान सुकी तथा विघटन गरिएको उहाँको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई सहभागी हुन नदिइएकोले चुनावी प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।
सेना वा सेनाका सहयोगीहरूको नियन्त्रण नभएका देशका क्षेत्रहरूमा मतदान नै नहुने सरकारी घोषणाले विश्लेषकहरूलाई झन् चिन्तित बनाएको छ । विज्ञहरूले यो चुनावलाई सैन्य शासनलाई निरन्तरता दिन खोजिएको ‘औपचारिक बहाना’ मात्र भएको टिप्पणी गरेका छन् ।
थाइल्यान्डका विदेशमन्त्रीले मङ्गलबार राति सञ्चारकर्मीहरूसँग भन्नुभयो, “हामी यसलाई स्वतन्त्र र विश्वसनीय बन्ने अपेक्षा राख्छौँ, तर त्यसो नहुने यथार्थ हामी सबैलाई थाहा छ । मेरो धारणा अनुसार हामी यस्ता चुनावलाई मान्यता दिने अवस्थामा रहनेछैनौँ ।”
यद्यपि उहाँले सन् २०१० को म्यान्मा निर्वाचनलाई उदाहरण दिंदै अपूर्ण चुनावले पनि कहिलेकाहीँ राजनीतिक सुधारतर्फ अघि बढ्ने बाटो खोल्न सक्ने बताउनुभयो । सन् २०१० को मतदानमा जनरल थेइन सेन राष्ट्रपति निर्वाचित भएपछि आङ सान सुकी रिहा हुनुका साथै अर्को निर्वाचनमा एनएलडीले विजय हासिल गरेको प्रसङ्ग उहाँले स्मरण गराउनुभयो । “सायद अपूर्ण भए पनि यो चुनावले देशलाई स्थिरता र लोकतन्त्रतर्फ फर्काउने अवसर दिन सक्छ”, उहाँले बैङ्ककमा भन्नुभयो ।
छिमेकी मुलुकका रूपमा थाइल्यान्डले म्यान्माको द्वन्द्वबाट विस्थापित लाखौँ नागरिकलाई आश्रय दिइरहेको छ । म्यान्माको बिग्रँदो आर्थिक अवस्थाका कारण रोजगारी खोज्दै देश छोड्नेको सङ्ख्या पनि उल्लेख्य छ ।
फ्रान्सका लागि पूर्व राजदूतसमेत रहनुभएका सिहासाकले ८० वर्षीया नेत्री आङ सान सुकीलाई मानवीय आधारमा तुरुन्त रिहा गर्न म्यान्मा अधिकारीहरूलाई आग्रह गर्नुभयो । “उहाँलाई अहिले मुक्त गर्नु अत्यावश्यक छ । यस्तो अवस्थामा सही कुरा भन्नु नै उचित हुन्छ । उहाँ लामो समयदेखि हिरासतमा हुनुहुन्छ, उहाँको स्वास्थ्यको अवस्थाबारे हामी अज्ञात छौँ”, उहाँले गम्भीर रूपमा भन्नुभयो ।
म्यान्मामा पहिलो चरणको मतदान डिसेम्बर २८ देखि सुरु हुनेछ भने दोस्रो चरण जनवरी ११ का लागि तय गरिएको छ । तर त्यसपछिका चरण तथा अन्तिम परिणाम कहिले सार्वजनिक गरिने भन्नेबारे सरकारद्वारा कुनै जानकारी दिइएको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
२०८२ मंग्सिर १०, बुधबार
‘न्वारनदेखिको बल लगाएर प्रधानमन्त्री कुलपति नरहने व्यवस्था हटाउँदैछौँ’ : शिक्षामन्त्री पुन
२०८२ मंग्सिर १०, बुधबार
नेप्से परिसूचक नौ अङ्कले बढ्यो
२०८२ मंग्सिर १०, बुधबार
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय
२०८२ मंग्सिर १०, बुधबार
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ
२०८२ मंग्सिर १०, बुधबार
म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री
२०८२ मंग्सिर १०, बुधबार
त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ
२०८२ मंग्सिर १०, बुधबार