बैसाख १६, २०८३ बुधबार April 29, 2026

एनपिएल फाइनल खेल्ने दुवै टिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले एनपिएलले नेपाली खेलकुदमा नयाँ उत्साह र ऊर्जा थपेको उल्लेख गर्दै यो प्रतियोगिताले देशको सकारात्मक छवि अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । उहाँले लेख्नुभएको सन्देशमा भन्नुभएको छ,
“यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”

उहाँले खेलकुद केवल मनोरञ्जन मात्र नभई राष्ट्रिय एकता, अनुशासन र पहिचानको माध्यमसमेत भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले एनपिएलको सफल आयोजनाले नेपाली क्रिकेटको स्तर उकास्न सहयोग पुगेको र आगामी दिनमा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश गएको बताउनुभएको छ ।

एनपिएलको पहिलो संस्करणमै दर्शकको उल्लेखनीय सहभागिता, खेलाडीको प्रतिस्पर्धात्मक प्रदर्शन र व्यवस्थित आयोजनाले प्रतियोगिता सफल बनेको खेलप्रेमीहरूको प्रतिक्रिया छ । फाइनल खेललाई लिएर राजधानीसहित देशभर क्रिकेटप्रेमीहरूमा उत्साह देखिएको छ ।

शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । आयोजकले फाइनल खेलका लागि आवश्यक सबै तयारी पूरा भएको र खेल शान्तिपूर्ण तथा भव्य रूपमा सम्पन्न गरिने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया