काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद मुख्य एजेन्डाका रूपमा प्रवेश गरेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भइसकेको र अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको उल्लेख गर्दै संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै बैठक बस्नुले यसको राजनीतिक महत्व बढेको छ। उक्त विज्ञप्तिपछि कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद अझ चर्किएको देखिन्छ।
बैठकमार्फत महाधिवेशनसँग सम्बन्धित विवाद समाधान गर्ने प्रयास गरिने नेताहरूले बताएका छन्। तर संस्थापन पक्ष र इतर समूहले आ–आफ्नो अडान कायम राखेकाले सहमति सहज हुने संकेत देखिँदैन। संस्थापन पक्षले निर्वाचन नजिकिएकाले अब चुनावअघि महाधिवेशन सम्भव नरहेको तर्क गरिरहेको छ भने इतर समूहले विधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएको छ।
यस बैठकको निष्कर्षले पार्टीको आन्तरिक शक्ति सन्तुलन मात्र होइन, आगामी निर्वाचन रणनीतिमा पनि प्रभाव पार्ने देखिएको छ। कांग्रेसभित्रको महाधिवेशन विवाद कसरी टुंगिन्छ भन्ने विषयमा राजनीतिक वृत्तको चासो बढेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया