काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको नाम नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ।
शनिबार सम्पन्न नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अध्यक्ष मैनालीको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक शुशिल खड्काका अनुसार बैठकले कुनै वैकल्पिक नाम नराखी अध्यक्ष मैनालीकै नाम एकल रूपमा सिफारिस गरेको हो। यसले पार्टीभित्र मैनालीप्रतिको विश्वास र संगठनात्मक एकतालाई स्पष्ट रूपमा देखाएको उनले बताए।
अध्यक्ष मैनाली यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए। लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका मैनालीलाई यसपटक पनि स्थानीय कार्यकर्ता तथा नेताहरूले निरन्तरता दिनुपर्ने धारणा राख्दै एकमत देखाएका छन्।
पार्टी स्रोतका अनुसार क्षेत्रीय तहबाट सिफारिस भएका उम्मेदवारहरूको नाम जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पेश गरिने छ भने अन्तिम उम्मेदवारको टुंगो पार्टी केन्द्रीय नेतृत्वले लगाउनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया